कोरोना महामारीमा ४२१ जना नयाँ अर्बपति जन्मिए, भारतमा मात्रै थपिए ४० जना



एकातिर कोरोनाकालमा विश्वको करोडौं जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी गएको र सापेक्षा गरिबीको अन्तर बढिरहेका बेलामा विश्वमा यही समयमा कैयन व्यवसायीहरु अर्बपतिको सूचिमा सामेल भएका छन् ।

कारोनाकालमा व्यापारमा आएको बढोत्तरीले विश्वमा हरेक हप्ता ८ जना व्यवसायीहरु अर्बपतिको सूचीमा सामेल भएका छन् भने पछिल्लो एक वर्षमा मात्रै ४२१ जना नयाँ व्यवसायीहरु अर्बपति भएका छन् ।

योसँगै विश्वमा अर्बपतिको संख्या ३ हजार २८८ पुगेको छ । छिमेकी मुलुक भारतमा मात्रै कोरोना कालमा मात्रै ४० जना नयाँ व्यवसायीहरुको सम्पत्ति १ अर्ब डलरभन्दा बढी पुगेको छ ।

योसँगै छिमेकी मुलुक भारतमा कुल अर्बपतिहरुको संख्या १७० पुगेको छ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्ति कोरोनाकालमा २४ प्रतिशतले बढेर ८३ अर्ब डलर पुगेको छ । त्यसैगरी भारतको राजस्तानका गौतम अडानीको सम्पत्ति यसबीचमा दोब्बर भएको छ । उनको कुल सम्पत्ति ३२ अर्ब डलर पुगेको छ । त्यसैगरी तेस्रो नम्बरमा रहेका शिव नाडारको कुल सम्पत्ति २७ अर्ख डलर पुगेको छ भने चौथो स्थानमा लक्ष्मी मित्तलको सम्पत्ति १९ अर्ब डलर पुगेको छ ।

विश्वका यी सबै अर्बपतिहरुको सम्पत्ति जोड्ने हो भने कुल सम्पत्ति १४७ खर्ब डलर पुगेको छ । यी अर्बपतिहरु विश्वका ६८ देशका २ हजार ४०२ वटा कम्पनीमा कार्यरत छन् । उनीहरुको सम्पत्ति गत वर्षको तुलनामा ३२ प्रतिशतले बढेको छ ।

अर्बपतिहरुको कुल सम्पत्ति गत वर्ष जमर्नीको जीडीपी बराबर थियो भने यो वर्ष उनीहरुको कुल सम्पत्ति चीनको जीडीपी बराबर पुगेको छ ।

विश्वका अर्बपतिको सूचीमा सबैभन्दा अगाडि टेस्लाका मालिक एलन मस्क छन् । उनको कुल सम्पत्ति ३२८ प्रतिशतले बढेर १९७ अर्ब डलर पुगेको छ । दोस्रो नम्बरमा रहेका जेफ बेजोसको कुल सम्पत्ति १८९ अर्ब डलर छ ।

तेस्रो नम्बरमा रहेका बर्नाड अर्नोल्ट छन् । उनको सम्पत्ति ११४ अर्ब डलर छ । भने चौथो नम्बरमा बिलगेट्सको सम्पत्ति ४ प्रतिशत बढेर ११० अर्ब पुगेको छ । त्यसैगरी पाँचौ स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन् । उनको कुल सम्पत्ति १०१ अर्ब डलर पुगेको छ ।


क्लिकमान्डु