गरिबी निवारणमा कसरी सफलता पायो चीनले ?



चिनियाँ सञ्चारमाध्यमहरुले चीनमा गरिबी निवारणमा उल्लेख्य सफलता हासिल गरेको विवरणसहितको समाचार सार्वजनिक गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन फिङले सन् २०१२ देखि शुरु गरेको गरिबी निवारणको योजना अगाडि बढेको र त्यो सफलता प्राप्त गरेको विवरणमा समावेश छ ।

पश्चिमा सञ्चार माध्यमले भने चीनको दावी तथ्य र यर्थाथता भन्दा बाहिरको विषय भएको भन्दै आलोचना गरिरहेका छन् । तर, चीनमा गरिबी निवारणमा देखिएको सफलता अन्य देशका लागि समेत अनुकरण गर्नुपर्ने विषय भएको सन्दर्भ पनि सँगै जोडिएर आएको छ ।

गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने भन्दै चीनले सकारात्मक तवरले विषयलाई हेर्न भनेको छ ।

चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समयभन्दा वर्षअघि नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले गरिबी चीनले विगत ८ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब १० करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका बताएका छन् । उनले आफूहरुले अगाडि सारेको ग्रामीण केिन्द्रत कार्यक्रमले सफलता पाएको र लाखौं मानिस गरिबीको रेखाबाट माथि उठेको दावी गरेका छन् ।

यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम भएको वाङको भनाइ छ ।

विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दावी छ ।

विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोडभन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेको छ ।

कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाईलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको चिनिया गरिबी निवारण कार्यक्रमको दावी छ ।

विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीको अवस्थाबाट मुक्त गर्न नसकेको तर चीनले सफलताका साथ इतिहास रचेको चीनले आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा बताउने गरेको छ । चिनियाँ नमूनाबाट अरु देशले गरिबी निवारणका लागि पाठ सिक्न सक्ने देखिन्छ ।

चिनियाँ ग्रामीण क्षेत्रको पुनरूत्थान व्यापक बनाउने लक्ष्य बोकेको दस्तावेजले चीनको कृषि विकासलाई छर्लङ्ग बनाएको विवरण पनि सँगै प्रकाशमा आएको छ ।

चीनले विगत १८ वर्षदेखि कृषि दस्तावेज सार्वजनिक गर्दै आफनो कृषि उत्पादनको अवस्थालाई आमरुपमा जानकारी गराएको छ । त्यसमा कृषिको उपज तथा विकासका लागि खेलिएको भूमिका तथा प्रयासलाई पनि समेट्ने प्रयास गरिएको छ । यो आफैमा सानो प्रयास थिएन, यो त एउटा निरन्तरको प्रयास थियो, जुन काम हामीले गर्नुपर्ने नै थियो, त्यो हामीले गर्यौ भन्ने कोणबाट चिनियाँ अधिकारी तर्क गर्छन् ।

चीनले विशेष गरी ‘कृषि, ग्रामीण क्षेत्र तथा किसान’लाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउने गरेको विषयलाई पनि महत्वका साथ प्रकाश पारेको छ । र, हामी जुन वर्ग र क्षेत्रमा विकासको गति बढाउनुपर्छ भन्ने सोच राख्छौ, सोही क्षेत्रमा काम पनि गर्छौ । माछा मार्ने सीप नभएका माछा मारेर दिने होइन, माछा पाल्ने र मार्ने सिप सिकाएका छौ, जसबाट आर्थिक उर्पाजन तथा गरिबी निवारणमा समेत योगदान गरेको छ, चिनियाँ सरकारी कागजातमा उल्लेख गरिएको छ ।

विश्वमै सबैभन्दा टूलो जनसंख्या भएको देशका रुपमा चीन परिचित छ । अर्थात् चीनमा १ अर्ब ४० करोड जनसंख्या छ । चीन अझै पनि कृषि प्रधान देश नै हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भए पनि पश्चिमाहरूले चीन अझै विकासोन्मुख मुलुक नै भएको बताउँदै आएका छन् । पश्चिमा जगतले चीनलाई विश्वको कारखाना मान्छ । चीनमा बनाउन नसकिने र नबनेका कुनै कुरा छैनन् पनि भन्ने गरिन्छ । किनकी कुनै पनि नयाँ माल वस्तु बनाउन नै बाँकी छैन ।

सन् २०२० मा मात्रै चीनमा ६६ करोड ९४ लाग ९० हजार टन बराबरको कृषि उपजको उत्पादन भएको विवरण सार्वजनिक भएको छ । यस्तै चीनमा मासुजन्य पदार्थमा समेत आत्मनिर्भर बन्दै गएको तथ्यांकमा समेटिएको छ । सन् २०२० मा ७ करोड ६३ लाख ९० हजार टन बराबरको मासुजन्य पदार्थ उत्पादन भएको छ ।

चीनले कृषिका लागि मात्रै ३० खर्ब २४ अर्ब २४ करोड २ लाख ८० हजार चिनियाँ युआन बजेट खर्च गर्दै आएको छ ।

कोरोना महामारीको उद्गम स्थल मानिएको चीनले पछिल्लो एक वर्षदेखि ‘कृषि, ग्रामीण क्षेत्र र किसान’ अभियानलाई पनि नयाँ रुपमा अगाडि बढाएको छ ।

अमेरिकासँगको व्यापार युद्ध तथा अन्य कारणले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने चिनियाँ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसले गरिबी निवारणमा थप सफलता हासिल गर्ने अनुमान गरिएको छ ।–एजेन्सी


क्लिकमान्डु