काठमाडौंमा पुनः देखियो बर्ड फ्लु, १५ हजार बढी पन्छी नष्ट



काठमाडौं । तारकेश्वरमा फेरि पनि बर्डफ्लु देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरूपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर परीक्षणमा गत १२ गते बर्डफ्लु रोग पुष्टि भएको जनाएको छ ।

बर्डफ्लु रोग देखिएपछि विभागले पाँच हजार ६ सय ५७ लेयर्स कुखुरा, सात हजार २ सय ३६ ब्रोइलर कुखुरा, दुई हजार ५ सय ४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५ सय ७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको छ । साथै, रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकेको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेको सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकेको बताए ।

त्यस्तै विभागले फार्म परिसरामा जैविक सुरक्षाका विधिहरु अबलम्बन गर्न/गराउन अनुरोध गरेको छ । साथै, सम्पूर्ण पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाएको छ ।

त्यसैगरी, घरपालुवा पन्छीलाई जंगली पन्छीहरुको सम्पर्कमा आउन नदिन खुल्ला रुपमा गरिने पन्छीपालनलाई निरुत्साहित गर्न र पन्छीजन्य उत्पादनको ओसारपोसा गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने भेटेनरी प्रमाणपत्र लिएर मात्र गनृ आग्रह गरेको छ ।


क्लिकमान्डु