लगानी दोब्बर हुने कुमारी इक्विटी फण्डको बिक्री खुल्ला, ढुक्क भएर लगानी गर्नुस्: सीओओ शर्मा



काठमाडौं । लगानीको एक दशकमा दोब्बर हुने कुमारी इक्विटी फण्डको बिक्री शुक्रबारदेखि खुलेको छ ।

कुमारी बैंकको शतप्रतिशत लगानी रहेको कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटी फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि ८० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।

प्रत्येक इकाइको मूल्य १० हुने गरेर ८० लाख इकाइको बिक्री खुल्ला भएको हो । शुक्रबार अर्थात् फागुन १४ देखि बिक्री खुल्ला भएको हो । यसको आवेदन दिने समय छिटोमा फागुन १८ र ढिलोमा फागुन २८ सम्म छ ।

एक इकाइको मूल्य १० रुपैयाँ राखिएको छ । कुमारी इक्विटी फण्डमा न्यूनतम १ हजारदेखि बढीमा ८० करोडसम्मको आवेदन दिन सकिने छ । आवेदन मेरो सेयर तथा आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिने छ ।

मागभन्दा बढी आवेदन परेको खण्डमा १ अर्बसम्म निष्कासन गर्न सकिने व्यवस्था छ । १० वर्षमा लगानी दोब्बर हुने कोष व्यवस्थापक कुमारी क्यापिटलका प्रमुख संचालन अधिकृत पुष्प शर्मा बताउँछन् ।

‘सानो रकमबाट बढी प्रतिफल चाहने लगानीकर्ताको लागि कुमारी इक्विटी लाभदायी हुन्छ,’ शर्माले भने ।

१० वर्षको अवधीमा लगानीकर्तालाई सो रकम फिर्ता हुन्छ । इक्विटीमा लगानी गर्ने लगानीकर्ताले हरेक वर्ष लाभांश पाउँछन् । १० वर्षपछि इक्विटीले कमाएको रकमबाट लगानीकर्तालाई फाइदासहित रकम फिर्ता हुन्छ ।

सेयर बजारमा जोखिम लिन नचाहनेका लागि सामूहिक लगानी कोष विकल्पको रुपमा हुन्छ । सामूहिक लगानी कोष व्यवस्थापकले राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने भएको हुँदा यसबाट बढी फाइदा हुन्छ । यसबाहेक सार्वजनिक निष्कासन (आइपीओ)मा पनि सामूहिक लगानी कोषलाई ५ प्रतिशतको आरक्षण छ । जसले गर्दा सामूहिक लगानी कोषमा हुने लगानी घाटामा जाने गर्दैैन ।

कुमारी इक्विटी फण्डमा लगानीकर्ताले किन लगानी गर्ने यो विषयमा क्लिकमाण्डूले कोष व्यवस्थापक कुमारी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत पुष्प शर्मासँग छोटो कुराकानी गरेको थियो ।

कुमारी इक्विटी फण्ड किन ल्याउनु भएको हो । यसमा सर्वसाधारणले किन लगानी गर्ने ?
कुमारी इक्विटी फण्ड भनेको कुमारी बैंकद्वारा प्रबद्र्धन गरिएको म्युचुअल फण्ड हो । शुक्रबारदेखि यसको बिक्री खुल्ला हुँदैछ । दीर्घकालीन लगानीकर्ताका लागि यो लगानी गर्ने माध्यम हो । हाम्रो न्याव १० रुपैयाँबाट शुरु भएर २२ रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरेका छौ । दोस्रो वर्षदेखि न्यूनतम ८ प्रतिशतभन्दा माथि प्रतिफल दिन सक्छौ । लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुन्छ ।

यसको अर्थ लगानी १० वर्षमा लगानीको दोब्बर हुन्छ होइन ?
१० रुपैयाँ युनिट २२ रुपैयाँ न्यूनतममा पनि पुग्छ भन्ने हाम्रो प्रक्षेपण हो । हामीले ७० देखि ७५ प्रतिशतसम्म इक्विटीमा लगानी गर्छौ । २० प्रतिशत लगानी लगानी फिक्स प्रतिफल आउने क्षेत्रमा हुन्छ । ५ प्रतिशत जति कल तथा अल्पकालीन लगानीका क्षेत्रमा लगानी हुन्छ । हामीले प्रत्येक वर्ष क्रमशः ८, १०, १२, १३, १४, १५, १५ र १५ प्रतिशत गरी प्रतिफल दिने प्रक्षेपण गरेका छौं ।

सामूहिक लगानी कोष नेपालमा शुरु भएको करिब १० वर्ष भयो । बजारमा यसको नकारात्मक बुझाइ छ नि ?
हामीको म्युचुअल फण्डभन्दा अल्पकालीन लगानीकर्ताले अल्पकालीन फाइदा लिने भएको हुँदा यो ओझेलमा परेको हो । आजको दिनमा हेर्ने हो सामूहिक लगानी कोषले गर्ने लगानीले लगानीको प्रतिफल दिएको हुन्छ । व्यक्तिगत लगानीकर्ताले आफै बढी रिस्क लिएर लगानी गर्ने हुँदा उनीहरुको प्रतिफल बढी आउने हुन्छ । हामीले जोखिम न्यूनिकरण गरेर बढी प्रतिफल दिएका हुन्छौ ।

एउटा व्यक्तिले मासिक ५ हजार रुपैयाँ बचाएको हुन्छ भने उसले किन तपाईको म्युचुअल फण्ड किन्ने ?
२ हजारदेखि ५ हजार रुपैयाँले लगानी दोस्रो बजारमा लगानी गर्नका लागि सानो रकम हो । म्युचुअल फण्डले सानो सानो रकमलाई एकीकृत गरेर लगानी गरेको हुन्छ । जसले ३ हजार रुपैयाँ लगानी गरेको हुन्छ उ पनि ब्यूचिप भएका कम्पनीको मालिक भएको हुन्छ । लगानीको विविधिकरण समेत हुन्छ । सामूहिक लगानी कोषमा हुने लगानीले जोखिमलाई न्यूनिकरण गर्ने गर्छ ।

कुमारी बैंकले प्रबद्र्धन गरेको पहिलो सामूहिक लगानी कोष हो । यो ब्याज मात्र खाएर बस्ने हो कि दोस्रो बजारमा पनि लगानी गर्ने हो ?
धितोपत्र बोर्डले बनाएको निर्देशिकाअनुसार हामीले लगानी गर्ने हो । हामीले त्यही निर्देशिका अनुसार मुद्दती निक्षेप, दोस्रो बजारदेखि लिएर विभिन्न क्षेत्रमा लगानी गर्ने छौ ।

तोकिएको समयमा पुरै बिक्छ भन्नेमा ढुक्क हुनुहुन्छ होइन ?
आजको दिनमा म्युचुअल फण्डको दोस्रो बजारको कारोबार हेर्ने हो भने १० रुपैयाँभन्दा तल बिक्री भएको छैन । १५÷१६ सम्म ट्रेडिङ भएको अवस्था छ । हिजोको दिनमा १० रुपैयाँ लगानी गर्नुभयो उहाँहरुको भ्यालु २० रुपैयाँ न्याव भयो भयो भने दोस्रो बजारमा सूचिकृत हुँदाको फाइदा हुन्छ ।

कुमारी इक्विटी फण्ड कसरी किन्न सकिन्छ ?
जसरी सेयरको लागि आवेदन गर्ने हो । त्यहीबाट मेरो सेयरमार्फत आवेदन गर्न सकिन्छ । यो दोस्रो बजारमा सूचिकृत हुन्छ । सूचिकृत भएपछि १० रुपैयाँ युनिटको मूल्य बढ्यो भने त्यही बेला बेच्न सकिन्छ ।


क्लिकमान्डु