आइएमई र अल अहलिया एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार गर्न सम्झौता



काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरब इमिरेट्सस्थित कम्पनी अल अहलिया एक्सचेञ्ज र आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरका लागि समझदारी गरेको छ ।

समझदारीपछि आइएमइमार्फत् रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्सचेञ्ज यूएइबाट नेपालको आइएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेञ्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुबै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ ।

यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्सचेञ्ज यूएइबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निक्कै खुशी लागेको अल अहलिया एक्सचेञ्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।
आइएमई पे ब्राण्डको प्रबद्र्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए ।

यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य स्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको बिस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

वार्षिक ८ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । अल अहलिया एक्सचेञ्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ ।

सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्सचेञ्ज यूएइमार्फत् पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।


क्लिकमान्डु