एक सातामै १७ अर्ब थप कर्जा बिस्तार, तरलता संकूचनको संकेत
काठमाडौं । बैंकहरुले एक सातामा नै १७ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका छन् । लगानीको परिस्थिति सहज हुँदै गएपछि बैंकहरु कर्जा बिस्तारमा आक्रमक भएका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार फागुनको पहिलो सातामा नै बैंकहरुले १२ अर्ब रुपैयाँ निक्षेप संकलन थप गर्दा १७ अर्ब रुपैयाँले कर्जा बिस्तार थप गरेका छन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा फागुन ७ गते १२ अर्ब रुपैयाँ थप गरी ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुर्याएका छन् ।
साथै, गत माघ मसान्तमा ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका बैंकहरुले फागुन ७ गतेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँले थप गरी ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुँदै जाँदा बैंकमा नयाँ कर्जाको माग बढेको बैंकर्सको भनाइ छ । तर यसरी कर्जामा माग बढे अनुसार प्रणालीमा स्रोत घट्दै गएमा केही समयपछि नै तरलता संकूचन हुनसक्ने अनुमान उनीहरुको छ ।