सिंहदरबारभित्रकै क्यान्टिनमा गुणस्तरहीन खाद्यान्न, विभागले तिरायो जरिवाना



काठमाडौं । देशकै सबैभन्दा ठूलो संरचान भएको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा गुणस्तरहीन सामान बिक्री गरेको पाएको छ ।

वाणिज्य आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहरबारका क्यान्टिनहरुको शुक्रबार अनुगमन गर्दा गुणस्तरहीन सामान बिक्री गरेको पाइएको हो ।

अनुगमन टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह) , अर्थ मन्त्रालय परिसरमा संचालित क्यान्टिन (म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा सञ्चालित क्यान्टिन गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरेको थियो ।

यस क्रममा ती क्यान्टिनहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु बिक्री गरेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणिक नापतौल मेसिन प्रयोग गरेको लगायतका उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका कामकारबाही गरेको पाइएकोले ३ हजार १ सय ४५ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरिएको विभागले जनाएको छ ।

साथै, केन्द्रिय क्यान्टिनलाई १० हजार जरिवाना गरी, नियमन सम्बन्धी कागजात पेश गर्न एवं मापदण्ड अनुसार क्यान्टिन संचालन गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं प्रवक्ता शिव राज सेढाइले जानकारी दिए । विभागले गत वर्ष पनि सिंहदरबारभित्रका क्यान्टिनहरुमा गरेको थियो । सोही अनुसार विभागले यो वर्ष पनि अनुगमन गरको उनले बताए ।

‘विभागले विभिन्न क्षेत्रमा विभिन्न गुनासो आएसँगै सोही अनुसार अनुगमन गरी जरिवाना गर्दै आएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘सिंहदरबारको क्यान्टिनमा पनि गुनासो आएकाले अनुगमन गरी जरिवाना गरेको हो ।’

त्यस्तै, उद्योग मन्त्रालयले क्यान्टिनमा उपलब्ध भएको दहीलाई पनि गुणस्तरको छ वा छैनन् भन्ने पत्ता लगाउनको लागि परीक्षणको लागि पठाइएको उनको भनाइ छ ।


क्लिकमान्डु