भारत सरकारले कर बढाउँदा पेट्रोलको मूल्यमा भारी वृद्धि, नेपाल के असर पर्ला ?



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लागिररहेको छ । कोरोनाका कारण पछिल्लो एक वर्ष संसारभर नै इन्धन खपतमा कमी आएको थियो ।

सोही कारण इन्धनको मूल्य असाध्यै तल्लो बिन्दुमा आइपुगेको थियो । पछिल्ला दिनमा कोरोनाको खोप आएका कारण आर्थिक गतिविधि बढ्न थालेको छ । सोही कारण इन्धनको खपतमा उल्लेख्य वृद्धि भएको छ । सोही कारण आर्थिक गतिविधिमा समेत तेज गति देखा परेको छ ।

नेपालमा विशेष गरी इन्धन भारतबाट आयात हुने गरेको छ । नेपालले कच्चा तेल ल्याएर प्रशोधन गर्नेतर्फ कुनै पनि ध्यान दिएको छैन । नेपाल जस्ता भूपरिवेष्ठित देशले प्राप्त गर्ने लाभ समेत लिन सकेको छैन । भारतमा लगाइएको अत्यधिक करको मार नेपाली उपभोक्ताले समेत व्योहोर्नु परेको छ ।
त्यसो त नेपालमा पनि असाध्यै ठूलो मात्रामा पेट्रोलियम पदार्थमा कर लगाइएको छ । सोही कारण पेट्रोलको मूल्य बढेर प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ ।

भारतको केन्द्र सरकारले पेट्रोलियम पदार्थमा अन्तशुल्कबाट कर लिने गरेको छ । सन् २०१४ को मेमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको सरकार गठन भयो । सो सरकारले एक लिटर पेट्रोलमा मात्रै १० रुपैयाँ ३८ पैसा तथा डिजलमा ४ रुपैयाँ ५२ पैसा कर असूल गर्ने निर्णय गरेको थियो । सो करलाई अन्तशुल्को नाम दिइएको छ ।

मोदी सरकारले भारतमा १३ पटक त्यस्तो कर बढाएको छ । तर, पछिल्ला ७ वर्षमा मात्रै ३ पटक मात्रै कर घटाइएको छ । पछिल्लो पटक २०२० मा पुनः कर बढाइएको छ । सोही कारण पेट्रोलमा ३२ रुपैयाँ ९८ पैसा र डिजलमा ३१ रुपैयाँ ८३ पसा अन्तशुल्क लागेको छ । मोदी आए लगत्तै केन्द्र सरकारले पेट्रोलमा ३ गुणा तथा डिजलमा मात्रै ७ गुणा कर बढाएको छ ।

भारतमा पनि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटदा भने उपभोक्तालाई छुट दिइएको छैन । मोदी सरकारका लागि लामो समयसम्म कच्चा तेलको मूल्यले साथ दिएको थियो ।

तर, मूल्य कम हुने बित्तिकै भने स्वचालित मूल्य भएपनि कम गरिएको थिएन । बरु उनले त्यसमा थप कर लगाइदिए । जब मोदी सत्तामा आए, तब उनले पेट्रोलमा मात्रै ३४ प्रतिशत, डिजलमा २२ प्रतिशत कर लगाए । सोही कारण पेट्रोलमा ६४ प्रतिशत र डिजलमा ५८ प्रतिशत कर लाग्यो । सोही कारण २०१४ को तुलनामा पेट्रोलमा दुई गुणा र डिजलमा अढाई गुणा कर तिर्नुपर्ने अवस्था आइपरेको छ ।

अटल बिहारी वाजपेयीको शासनकालमा भारतमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ ७१ पैसामा बिक्री हुन्थ्यो । यस्तै डिजल भने २२ रुपैयाँ ७४ पैसा भारुमा बिक्री हुन्थ्यो । मनमोहन सिंहको पालामा पेट्रोल ४० रुपैयाँ ७२ पैसा र डिजल ३२ रुपैयाँ ९२ पैसा भारुमा बिक्री वितरण हुन्थ्यो ।

पछिल्लो पटक सन् २०१४ देखि २०२१ मा आइपुग्दा मोदीकालमा भने अत्यधिक मूल्यवृद्धि भएको छ । सन् २०१४ मा पेट्रोल ७१ रुपैयाँ ४१ पैसा र डिलज ५६ रुपैयाँ ७१ पैसामा थियो । अहिल आइपुग्दा सन् २०२१ मा पेट्रोल ९० रुपैयाँ ५८ पैसा र डिजल ८० रुपैयाँ ९७ पैसा पुगेको छ ।

आजभोलि त भारतमा समेत पहिलो पटक पेट्रोलको मूल्य लिटरमा नै १०१ भारुमा पुगेको छ । पछिल्लो एक वर्षमा हिन्दुस्तान पेट्रोलियमको मुनाफा २१५ प्रतिशत र भारत पेट्रोलियमको मुनाफा १२० प्रतिशत छ ।


क्लिकमान्डु