भारत सरकारको अनुदान सहयोगमा बन्ने विद्यालयको शिलान्यास
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरे ।
कागेश्वरी नगरपालिका-५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुने लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता लागेको छ ।
शिलान्यासपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।
‘सामुदायिक विद्यालयहरुमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर बृद्धिमात्र होइन शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ,’ उनले भने ।
भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखे ।
फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् ।
त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि ५ वटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने थप आठवटा कोठा रहनेछन् ।
त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा व्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मंञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् ।
विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेलका अनुसार विद्यालयमा करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।
निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । यही माघ २६ गतेबाट निर्माण कार्य सुरु भएको छ ।
भूकम्पपश्चात शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ ।
भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (बिहीबारको विनिमय दर ११६ अनुसार करिब ५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचनाहरु निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा छन् ।
कान्ति भैरवसहित थप छ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा बीच सझदारीपत्रमा हस्ताक्षर भयो ।