सुनको मूल्य घट्न थाल्यो, ८ महिना अघिकै मूल्यमा झर्यो



काठमाडौं । पछिल्लो समय निकै आकासिएको सुनको मूल्य लामो समयपछि घटेर सोही मूल्य कायम भएको छ ।

गत असारदेखि निरन्तर बढेको सुनको मूल्य ९० हजारभन्दा माथिको मूल्यमा कारोबार भइरहेको थियो । तर, बुधबार ८ महिनापछि ९० हजारभन्दा कम सुनको मूल्य कायम भएको छ ।

गत असार ४ गते नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य ८९ हजार ८०० रुपैयाँ मूल्य कायम गरेको थियो । .साथै, असारबाट निरन्तर उकालो लागेको सुनले मूल्यले गत साउन २३ गते नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम गरेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

गत साउन १ लाख ३ हजार ५०० रुपैयाँ मूल्य कायम भए पनि त्यसपछिका दिनमा उक्त मूल्य बढ्न सकेन । लामो समयसम्म घटबढ भइरहेको सुनको मूल्य ८ महिना पछि सोही मूल्य ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै, सुनको मूल्य घटबढ हुने सामान्य रहेता पनि हाल ८९ हजार ८०० सय रुपैयाँ कायम हुँदा आश्चर्य लागेको व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

उनका अनुसार मूल्य घट्नुको मुख्य कारण अन्र्राष्ट्रिय बजारको कारोबार तल माथि रहेको बताए । साथै, मूल्य घट्छ वा बढ्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय बजारको कारोबारले मूल्य तय गर्ने भएकाले हाल कायम भएको सुनको मूल्य उचित रहेको उनले बताए ।

त्यसैगरी, विगतको दिनमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घटेर ८९ हजार ८०० मूल्य कायम हुँदा कोरोनालाई जितेर सामान्य अवस्थामा फर्केको बुझ्नुपर्ने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । केही दिन अघिदेखि नै घटबढ भएर ९० हजारमा कारोबार भइरहेको सुनको मूल्य ९० हजारभन्दा तल झर्दा अझै केही घट्न सक्ने उनको अनुमान छ ।

‘विगतको दिनमा सुनको मूल्य घटबढ भइरहँदा ९० हजारसम्म झर्न सक्ने अनुमान गरेको थिए,’ उनले क्लिकमान्डूसँग भने, ‘हाल ८९ हजार ८०० रुपैयाँ मूल्य कायम भएको छ । यसले गर्दा ढिलो चाँडो भएपनि करिब ८५ हजारसम्म मूल्य झर्न सक्ने अनुमान गरेको छु ।’

साथै, पछिल्लो समय उद्योग, व्यवसाय पूर्णरुपमा सञ्चालन भएको र कोभिड–१९ को भ्याक्सिन पनि परीक्षण भई लगाउन थालेपछि सकारात्मक अवस्था देखिन थालेको छ । त्यसैले सुनको मूल्य पनि विस्तारै घट्दै गएको र माग पनि बढ्न थालेको उनले बताए ।


क्लिकमान्डु