दशैंपछि ४० प्रतिशतले जग्गाको मूल्य बढ्यो



काठमाडौं । कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रमा ठूलो संकट आइलाग्यो । उद्योगहरु सञ्चालन हुन सकेनन् भने धेरै आर्थिक गतिविधिहरु ठप्प प्रायः भयो । तर यस्तो अवस्थामा पनि घर जग्गाको व्यापारमा खासै असर परेको छैन ।

लामो समयको बन्दाबन्दीले घरजग्गा कारोबारमा पनि धेरै धक्का हुने अनुमान गरेका थिए । साथै, बन्दाबन्दीको समयमा पनि घरजग्गाको कारोबार गर्न सफल भएका व्यवसायीहरूले कोभिड पश्चात घरजग्गाको मूल्य नबढ्ने अनुमान थियो ।

तर, कोभिडको समयमा वा कोभिड पश्चात रियल स्टेट अर्थात घरजग्गा कारोबारमा भने अनुमान गरेभन्दा ठीक उल्टो भएको छ । कोरोनाले सम्पूर्ण कारोबार बन्द भए पनि घरजग्गा कारोबार भने भइरहेको व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरूका अनुसार मालापोत कार्यालबाट हुने कार्य गर्न नपाए पनि घरजग्गा किनबेचको कार्य भने पर्याप्त भएको व्यवसायीहरूको अनुभव रहेको छ । यस्तै, पछिल्लो समय घरजग्गाको कारोबार अप्रत्याशित रुपमा बढेसँगै मूल्य पनि निकै आकासिएको व्यवसायीहरूले जनाएको छ ।

४० प्रतिशतसम्म बढ्यो मूल्य

कोरोना भाइरसले भएको बन्दाबन्दीले गर्दा घरजग्गामा लगानी गर्ने व्यक्ति बढेसँगै मूल्य पनि निकै बढेको रियल स्टेट कारोबार नेपालका सञ्चालक प्रकाश छटकुली बताउँछन् ।

उनका अनुसार कोरोनाले गर्दा अन्य व्यवसाय जस्तै यो क्षेत्र पनि प्रभावित हुने अनुमान गरेको थियो । तर, बजार चलायमान हुन थालेपछि कारोबार बढ्दै गएको र मूल्य पनि त्यही अनुसार बढेको बताए ।

उपत्यकाको हकमा रिङरोडभन्दा बाहिरको स्थानमा जग्गामा अत्यधिक मूल्य बढेको उनको भनाइ छ ।

‘काठमाडौंको रिङरोडभित्रको जग्गामा करिब प्रति आना ३/४ लाखमात्रै बढेको पाइन्छ,’ उनले भने, ‘तर, रिङरोड बाहिरको जग्गाहरुमा करिब प्रतिआना ७/८ लाख रुपैयाँसम्म बढेको छ ।’

केही महिना अघि रिङरोड बाहिर कुनै पनि स्थानमा एउटा जग्गाधनीले प्रति आना २० लाखको दरले किनेको थियो भने अहिले त्यो मूल्य बढेर २६/२७ लाख पुगेको उनले बताए ।

यसले गर्दा जग्गाको मूल्य करिब ४० प्रतिशतसम्म मूल्य वृद्धि भएको उनको भनाइ छ । त्यसैगरी, स्थानले पनि धेरै फरक पर्ने भएकाले ठाउँ अनुसार मूल्य वृद्धि भइरहेको उनले उल्लेख गरे ।

उनले उपत्यकामा मात्रै नभई देशका विभिन्न मुख्य शहरहरुमा पनि घरजग्गाको कारोबार गर्दै आएकोमा सबै स्थानको जग्गामा मूल्य वृद्धि भइरहेको उनको अनुभव छ । तर, चितवनमा भने मूल्य यथावत रहेको उनले जानकारी दिए ।

घरजग्गाको मूल्य ठाउँ अनुसार फरक हुने भएकाले अधिकांश कारोबार भइरहेको जग्गाको मूल्यमा कोभिडपछि भने करिब ४ देखि ५ लाखसम्म मूल्य वृद्धि भएको बताउँछन् घरजग्गा बिक्री केन्द्रका सञ्चालक सुजन खड्का ।

उनका अनुसार बजारमा दिनप्रति दिन मूल्य बढ्दै गएता पनि किनबेचको लागि ग्राहकको कुनै कमी नरहेको बताए । साथै, कोभिडपछि उद्योगधन्दा तथा व्यवसाय भएकाले यस क्षेत्रमा लगानी बढेको उनले बताए ।

त्यसैगरी, अधिकांश व्यवसायीहरूले जग्गाको मूल्य अत्यधिक मूल्यवृद्धि गराए पनि नेपाल भूमि रियल स्टेट एजेन्सीले भने आफूले कारोबार गरिरहेको जग्गामा खासै मूल्यमा परिवर्तन नआएको कम्पनीका सञ्चालक सुरशे तामाङ बताउँछन् ।

‘बजारमा स्थान अनुसार मूल्य बढेको पाइन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘मैले किनेर बिक्रीमा राखेको मूल्यमा भने स्थिर रहेको छ । तर, केही ठाउँमा भने ३÷४ लाखसम्म मूल्य बढाएको छ ।’

पछिल्लो समय किनबेच तथा जग्गामा लगानी गर्ने मानिस थुप्रिएसँगै जग्गाको मूल्य अप्रत्याशित रुपमा बढेको उनको बुझाइ छ ।

किनबेचमा ग्राहकको समस्या छैन
कोरोनापश्चात घरजग्गामा अत्यधिक मूल्य बढे पनि किनबेचमा भने कुनै समस्या नरहेको घरजग्गा कारोबार व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरूका अनुसार घरजग्गा बिक्री गर्ने जग्गाधनीको पनि कुनै कमी नरहेको र किन्ने ग्राहकहरूको पनि कुनै कमी नरहेको बताएका छन् । साथै, दिन प्रतिदिन मूल्य वृद्धि हुँदा पनि ग्राहकको कुनै कमी नहुँदा राम्रोसँग घरजग्गाको कारोबार भइरहेको उनीहरूले बताएका छन् ।

त्यस्तै, अहिले कारोबार हुने समय भएकाले पनि दिन प्रतिदिन घरजग्गाको कारोबार बढिरहेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

मूल्यवृद्धि हुनुको कारण यस्तो छ
कोरोनापछि जग्गाको मूल्य अत्यधिक रुपमा बढ्नुको कारण एउटै बताउँछन् व्यवसायीहरू । त्यो हो अन्य व्यवसाय तथा उद्योगधन्दा बन्द हुँदा त्यहाँका व्यवसायीहरूले घरजग्गामा लगानी गर्नु ।

घरजग्गा कारोबार गर्ने व्यवसायीहरूको अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि भएको लकडाउन व्यवसाय चलायमान हुन नपाउँदा अधिकांश उद्योगी तथा व्यवसायीले जग्गामा लगानी गरेको हुनाले किनबेचमा वृद्धि हुन गई मू्ल्य पनि बढेको बताएका छन् ।

‘अन्य क्षेत्रमा लगानी गर्दा खासै लगानी गरेअनुसारको मूल्य आउँदैन । विगतको दिनमा बैंकमा राख्ने प्रचलन थियो । जसमा धेरै रकम राखेता पनि वार्षिक रुपमा थोरै मात्रै पैसा आउँथ्यो । तर, अहिले घरजग्गामा लगानी गर्दा वर्षदिन नपुग्दै आम्दानी डबल हुन पुग्छ । त्यसैले घरजग्गाको कारोबार बढ्नुको कारण यो पनि रहेको छ,’ रियल स्टेट कारोबार नेपालका सञ्चालक प्रकाश छतकुलीले भने ।

जग्गाको मूल्य स्थान अनुसार फरक हुने भएकाले स्थान अनुसार नै वृद्धि भएको उनीहरूको भनाइ छ । यस्तै, पछिल्लो समय सबै स्थानमा विकास हुँदै गएको र सडकको पनि राम्रो व्यवस्था हुँदै जाँदा त्यस क्षेत्रको जग्गामा मूल्य वृद्धि भइरहेको व्यवसायीहरूले बताएका छन् ।

अहिले जुनसुकै स्थानमा सडक पुर्याउने काम भइरहेको छ । त्यसैले सडक पुग्ने वित्तिकै सडक छेउका स्थान लगायत सडकभन्दा २० मिटर टाढासम्मको जग्गाको मूल्य वृद्धि हुने प्रवृत्तिले मूल्य दिनप्रति दिन बढेको उनीहरूको बुझाइ छ ।


क्लिकमान्डु