आइसीआइसीआइ बैंककी पूर्व सीइओ तथा एमडी चन्दा कोचरलाई अदालतले जमानत दियो
भारतको आइसीआइसीआइ बैंककि पूर्व सीइओ तथा एमडी चन्दा कोचरलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि विशेष अदालतले जमानत दिएको छ । उनलाई ५ लाख भारतीय रुपैयाँमा जमानत दिएको हो । तर उनलाई अदालतको अनुमति बिना देश छाडेर जान प्रतिबन्ध समेत लगाएको छ ।
आइसीआइसीआइ बैंक र भिडियोकोनबीचको कर्जा मामिलामा चन्दा कोचरलाई शुक्रबार मुम्बइको उक्त अदालतमा पेश गरिएको थियो । यसै महिनाको शुरुवातमा अदालतले प्रवर्तन निर्देशनालय (इडी)का तर्फबाट पेश भएको प्रमाण कोचर तथा अन्य व्यक्तिका विरुद्ध सम्पत्ति शुद्धिकरणमा जाँच गर्नका लागि प्रमाण पर्याप्त भएकौ बताएको थियो ।
यसअघि ३० जनवरीमा विशेष अदालतले चन्दा कोचर, उनका पति दीपक कोचर, भिडियोकोनका प्रमोटर वेणुगोपाल धुत र केही अन्य व्यक्तिहरुलाई न्यायालयमा उपस्थित हुनका लागि पत्राचार गरिएको थियो ।
सन् २०२० को मे महिनामा प्रवर्तन निर्देशनालयले उनी र उनका पतिका बारेमा प्रश्न उठाएको थियो । उनलाई १८७५ करोड भारतीय रुपैयाँ कर्जा र त्यससँगै जोडिएको अन्य मामिलामा सोधपुछ गरिएको थियो ।
यो कर्जा आइसीआइसीआइ बैंकले भिडियोकोनलाई सन् २००९ र सन् २०११ मा दिएको थियो । चन्दा कोचर तत्कालिन समयमा बैंकको एमडी तथा सीइओ थिइन् । सीबीआइले कोचर, धुत तथा अन्य व्यक्तिका विरुद्ध उजुरी दर्ता गरेपछि इडीले चन्दा कोचरका पति दीपक कोचरलाई गत सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।
चन्दा कोचर सन् २००९ अगष्ट २६ मा बैंकले भिडियोकोन इन्टरनेशनल इलेक्ट्रिोनिक्सलाई ३०० करोड भारतीय रुपैयाँ र ३१ अक्टोबर २०११ मा भिडियोकोन इन्डष्ट्रिजलाई ७५० करोड भारु कर्जाका लागि अनुमति दिने समितिकि सदस्य थिइन् । उक्त समितिको फैसलाले बैंकको रेगुलेसन तथा नीति उल्लघंन गरेको थियो ।