४ वर्षका लागि नियुक्ति भएका सनराइज बैंकका सीइओ पौडेलले १९ महिनामै राजीनामा दिए



काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । नियुक्तिको १९ महिनापछि पौडेलले राजीनामा गरेका हुन्।

बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको थियो ।

‘सञ्चालक समितिमा सँधै विवाद भएपछि राजीनामा दिएको हुँ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

बैंक सञ्चालक समितिले सोमबार डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको थियो । स्रोतका अनुसार राणाको नियुक्तिमा पनि पौडेल सहमत थिएनन् ।

पौडेल सञ्चालकहरुबीचको चरम गुटवन्दीको सिकारमा परेका थिए । सञ्चालकहरुबीचको विवाद पटक पटक राष्ट्र बैंकले मिलाउनु परेको थियो ।

उनी यसअघि ग्लोबल आइएमई बैंकका सीइओ थिए । सञ्चालक समितिसँगको सम्बन्ध चिसिएपछि सीइओ बनेको ११ महिनामै राजीनामा दिएका थिए ।

पौडेलसँग ३ दशक लामो बैंकिङको अनुभव छ । नबिल बैंकबाट करियर शुरु गरेका पौडेलले तत्कालीन एनआइसी बैंकमा ५ वर्ष काम गरेका थिए । त्यसपछि लक्ष्मी बैंक हुँदै ग्लोबल आइएमइ बैंकमा काम गरे ।


क्लिकमान्डु