श्रम मन्त्रालयको साप्ताहिक प्रगति विवरणः ७ हजारले पाए रोजगारी, ८२ रोजगारदाता कोषमा आबद्ध



काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक हप्तामा ७ हजार २९ जनाले रोजगारी पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ १६ गतेदेखि माघ २२ गतेसम्मको सार्वजनिक गरेको साप्ताहिक विवरणबाट उक्त रोजगारी पाएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत हप्तामा ५ हजार ७ सय २० जनाले बरोजगारले रोजगारी पाएका थिए । तर, चालु आवमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाउने आशमा ७ लाख ४३ हजार १ सय ६८ जना बेरोजगार युवा सूचिकृत भएका छन् ।

सरकारले चालु आवमा ११ अर्ब कार्यक्रमको लागि बजेट छुट्टाइएको थियो । उक्त रकमबाट सरकारले करिब २ लाखलाई १०० दिने रोजगारी प्रदान गर्ने बताएका थिए । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भने हालसम्ममा १३ हजार ८ सय ५७ जनाले रोजगारी पाएको राष्ट्रिय तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी मन्त्रालयले एक हप्तामा सम्बन्धित विभाग र कार्यालयबाट १ सय २६ वटा प्रतिष्ठान निरीक्षण गरिएको छ । साथै, सम्बन्धित विभाग र कार्यालयबाट ५६ वटा बाल श्रम निरीक्षण गरिएको छ ।

त्यसगरी, श्रम सम्बन्धी १२ वटा विवाद तथा गुनासो आएकोमा ८ वटा समाधान भएको छ भने बाँकी चारवटा प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

२१ सय बढीले लिए श्रम स्वीकृति
गत माघ १६ गतेदेखि माघ २२ गतेसम्ममा व्यक्तिगत र संस्थागतबाट २१ सय २६ जना नेपालीले वैदेशिक रोजगारी जानको लागि नयाँ श्रम स्वीकृति लिएका छन् । साथै, २४ सय ८१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत माघ १६ सम्ममा १६ हजार ९९ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने ३४ हजार ६ सय ७२ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यससँगै, वैदेशिक रोजगारीमा वैधानिकरणबाट एक हप्तामै १ सय ७५ जना वैदेशिक रोजगारीमा गएका छन् भने गत माघ १६ सम्ममा १९ सय ९२ जना वैधानिक रुपमा विदेशिएका छन् । तर, ईपिएसतर्फबाट भने कुनै पनि रोजगारीमा जान पाएका छैनन् ।

यससँगै मन्त्रालयले एक हप्ताको अन्तरालमा ३६ जना गैर नेपाली नागरिकको नयाँ श्रम स्वकिृति दिएको छ । साथै, ७१ जनाको श्रम स्वीकृति नवीकरण गरिएको छ । साथै, मन्त्रालयले गत माघ गतेसम्ममा ४ सय ६४ जनाले नयाँ श्रम स्वीकृति र ७ सय १७ जनाले श्रम स्वीकृति नवीकरण गरीएको छ ।

त्यस्तै, श्रम मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार विभागमा १३ वटा उजुरीमा ३ वटा उजुरी फछ्र्यौट गरेको छ । जसमा चालु आवदेखि हालसम्ममा १५१ उजुरी प्राप्त भएकोमा २८ वटा मात्रै फछयौट हुन सकेको मन्त्रालयको भनाइ छ ।

हप्ता दिनमै ८२ वटा रोजगारदाता आबद्ध
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक हप्ताको अन्तरालमै ८२ वटा रोजगारदाता आबद्ध भएका छन् । उक्त ८२ वटा रोजगारदाताबाट १६ सय ३८ जना श्रमिक आबद्ध भएको मन्त्रालयले जनाएको छ ।

जसमा उक्त रोजगारदाता र श्रमिकबाट २५ करोड १ लाख रुपैयाँ रकम जम्मा भएको छ । कोषमा हालसम्ममा १३ हजार १ सय २४ रोजगारदाताबाट १ लाख ८६ हजार ७ सय ९१ श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएको रोजगारदाता र श्रमिकबाट कोषमा ३ अर्ब ८० करोड ९ लाख रुपैयाँ रकम संकलन भएको छ ।

यस्तै गत माघ १६ गतेदेखि २२ गतेसम्ममा विभिन्न संघसंस्थाका ५३ जना श्रमिकले योजनाको सुविधा प्राप्त गर्न ९८ लाख रुपैयाँ रकम दाबी गरेको । साथै, कोषबाट हालसम्ममा १७ सय २४ जनाले ३ करोड ३ लाख रुपैयाँ रकम दावी गरेको छ ।


क्लिकमान्डु