उद्योग विभागका महानिर्देशकलाई भेटेर महासंघले भन्यो- एकल बिन्दु सेवा प्रभावकारी होस्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको टोलीले उद्योग विभागका महानिर्देशक जीवलाल भुषाललाई भेट गरी एकल विन्दु सेवा प्रभावकारी बनाउन माग गरेको छ ।

भेटमा महासंघको टोलीले कोभिड प्रभावित उद्योगहरूलाई पुनरउत्थान र पुनसंचालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यान्वयनका लागि सहजीकरण गरिनु पर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनु पर्ने, एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेको थियो ।

त्यसका साथै स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनु पर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यवहारिक एवं संस्थागत कठिनाईहरूका बारेमा उद्योग बिभाग र महासंघकाबीच कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्ने लगायतका सुझाव राखिएको थियो ।

उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंघ नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको बताएका थिए । उनले महासंघले उठाएका विषयलाई सम्बोधन गर्दै जाने विश्वास समेत दिलाए ।

उनले एकल विन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए । उद्योगहरूको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन जनाए ।


क्लिकमान्डु