अमेजनको सीइओ पद छाड्दै जेफ बेजोस, अब यी काममा हुनेछन् सक्रिय



अमेजनका संस्थापक जेफ बेजोसले यही वर्ष सीइओ पदबाट हट्ने घोषणा गरेका छन् । तर उनको यो रिटायरमेन्ट भने होइन । उनको स्थानमा एन्डी जेसी नयाँ सीइओ हुनेछन् । बेजोस अब बोर्डमा कार्यकारी अध्यक्ष हुनेछन् ।

बेजोसले कर्मचारीहरुलाई पत्राचार गर्दै कम्पनीमा जेसीको नयाँ भूमिकाका लागि विश्वासयोग्य भएको बताएका छन् । उनले जेसीको प्रसंशा गर्दै राम्रो नेतृत्वकर्ता भएको बताए । जेसी अहिले अमेजनको वेव सर्भिसका प्रमुख हुन् । जेसीले अमेजनमा सन् १९९७ मा मार्केटिङबाट करिअर शुरु गरेका थिए । सन् २००३ मा कम्पनीमा क्लाउड सेवा दिने उनी एडब्ल्यूएसको शुरुवात समेत गरेका थिए । यो डिभिजन अमेजनलाई सबैभन्दा धेरै फाइदा दिने सेग्मेन्ट हो ।

मंगलबार अमेजनको मार्केट भ्याल्यू १.६८ लाख करोड डलर थियो । पछिल्लो १० वर्षको कम्पनीको मार्केट भ्याल्यू १० गुणाले बढेको छ ।

अब बेजोस कम्पनीको परोपकारी काममा ध्यान दिनेछन् । जसमा डे वन फन्ड, बेजोस अर्थ फन्ड, अन्तरिक्ष रिसर्च तथा पत्रकारितासँग जोडिएका गतिविधिमा उनी संलग्न हुनेछन् ।

बेजोसले सन् १९९४ मा अनलाइन बुक स्टोरबाट अमेजनको शुरुवात गरेका थिए । अहिले यो कम्पनीले विश्वका १७ वटा देशमा व्यापार बिस्तार गरिसकेको छ । कम्पनीमा आजका दिनमा १३ लाखले जागिर गरिरहेका छन् । जसमध्ये ८ लाख कर्मचारी अमेरिकामा मात्रै छन् ।

अमेजनले गत डिसेम्बर ३१ मा समाप्त भएको चौथो त्रैमासको नतिजा पनि सार्वजनिक गरेका छन् । कम्पनीले सन् २०२० को पछिल्लो ३ महिनामा १०० अर्ब डलरको सामान बिक्री गरेको थियो । अमेजनले तेस्रो त्रैमासमा मात्रै ७.२ अर्ब डलरभन्दा बढी फाइदा गरेको छ । कम्पनीको आम्दानी ४४ प्रतिशतले बढेर १२५.६ अर्ब डलर पुगेको छ ।


क्लिकमान्डु