नेपालले कोभ्याक्सबाट साढे २२ लाख डोज खोप पाउँदा अरु देशले कति पाउने ? (विवरणसहित)



काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको जोहो गरिरहेका नेपाललगायत दक्षिण एशियाली देशले कोभ्याक्समार्फत् राहतमा खोप पाउने भएका छन् । नेपाललगायतका देशले कोभ्याक्सअन्तर्गत भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिशिल्डको २२ लाख ५६ हजार डोज मात्रा पाउने कोभ्याक्सले जनाएको छ । उक्त खोप अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् ।

उक्त खोपको आपूर्ति आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुनसक्ने बताइएको छ ।

कोभ्याक्सले बुधबार प्रकाशित गरेको वितरणअनुसार दक्षिण एशियाका अन्य देशहरूले पनि कोरोनाको खोप पाउनेछन् ।

विवरण अनुसार बंगलादेशले १ करोड २७ लाख ९२ हजार डोज प्राप्त गर्नेछ । यस्तै, भुटानले १ लाख ८ हजार डोज पाउँदा भारतले ९ करोड ७१ लाख ६४ हजार डोज प्राप्त गर्नेछ । यस्तै, मालदिभ्सले १ लाख ८ हजार डोज र पाकिस्तानले १ करोड ७१ लाख ६० हजार डोज खोप प्राप्त गर्नेछ । यस्तै श्रीलंकाले १६ लाख ९२ हजार डोज खोप प्राप्त गर्नेछ ।

कोभ्याक्सका अनुसार यो तथ्यांक अन्तरिम वितरणका अनुमानमा आधारित छ । पछि तथ्यांकमा तलमाथि हुनसक्ने बताइएको छ ।

सन् २०२० को अप्रिलमा मा विश्व स्वास्थ्य संगठन, युरोपियन कमिशन र फ्रान्सले स्थापना गरेको एक्सेस टु कोभिड १९ टुल्सको एउटा अंगलाई कोभ्याक्सको नाम दिइएको बीबीसीले जनाएको छ ।

ग्याभी, भ्याक्सिन अलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेडनेस इनोभेटर्सले संयोजन गर्ने कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्दै आएको छ । यसले सबै देशलाई समान मात्रामा खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप खरिद गर्नेछन् भने ग्याभी कोभ्याक्स (एएमसी) अन्तर्गत ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन् । नेपालले एएमसीअन्तर्गत खोपको सुविधा पाउन लागेको हो ।


क्लिकमान्डु