ऋण नतिरेपछि दोलखाको मिल्ती खोला जलविद्युत् आयोजनाको सम्पत्ति लिलामी हुँदै
काठमाडौं । तोकिएको समयमा कर्जाको सावा तथा व्याज भुक्तानी नगरेको पाइएपछि प्रभु बैंकले मिल्ती खोला दोस्रो लघु जलविद्युत् आयोजनाको चल अचल सम्पत्ति लिलाम गर्ने भएको छ ।
दोलखा जिल्लामा आयोजना स्थल रहेको सो आयोजनाका ऋणीले बैंकबाट लिएको ऋण तोकिएको समयमा चुक्ता नगरेकाले ३५ दिनभित्र लिलाम गर्न लागेको सूचनामा उल्लेख छ । बैंकले बिहीबार सूचना प्रकाशित गरी ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न आउन भनेको छ ।
३५ दिनभित्र कर्जा चुक्ता नभएको अवस्थामा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने जनाइएको छ ।
नेपाल सरकारको साविक स्थानीय विकास मन्त्रालयल जिल्ला विकास समितिको कार्यालय दोलखामा जलस्रोत ऐन, २०४९ अनुसार मिल्ती खोला दोस्रो लघु जलविद्युत् आयोजना दर्ता भएको हो ।
मेलुङ गाँउपालिका ६ साविक डााखर्क गाविस ७ दोलखामा सो आयोजनाको कार्यालय रहेको छ । सो आयोजनाको जमानतकर्तामा बाबुराम कार्की, शम्भु केसी, रमेशकुमार श्रेष्ठ, सकलाल तामाङ, बाबुलाल तामाङ, दिनेशेबहादुर अधिकारी, तिलकबहादुर थापा मगर, देवका भण्डारी, दानबहादुर तामाङ, पदमबहादुर तामाङ, नरबहादुर खत्री, चम्पा लामा, लोकबहादुर खत्री, सविताकुमारी सापकोटा र चेतबहादुर तामाङ छन् ।
बैंकले आयोजनाको नाममा रहेको जग्गा तथा त्यसले चर्चेको सम्पूर्ण लिगपात समेत लिलामी हुने जनाएको छ । तोकिएको समयमा कर्जा चुक्ता नगरेमा धितो लिलामी गरेर ऋणीलाई कालोसूचीमा राखिने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेखछ । कर्जा चुृक्ता भएको खण्डमा बैंकले लिलामीको सूचना फिर्ता लिन सक्ने समेत जनाएको छ ।