संसद् बिघटनपछि सवा १ अर्ब लगानीको प्रतिबद्धता



काठमाडौं । प्रतिनिधिसभा बिघटन भएपछि नेपालमा जम्मा १ अर्ब २८ करोड रुपैयाँको स्वदेशी र विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार प्रतिनिधिसभा बिघटन भएको पुस ५ गतेदेखि माघ २१ गतेसम्मको अवधिमा ३१ वटा कम्पनीमा स्वदेशी र विदेशी लगानीको प्रतिबद्धता आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न नदिइएको दावी गर्दै प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गरेर बैशाखामा निर्वाचनमा जाने घोषणा गरेका थिए । त्यसयता मुलुकमा राजनीतिक संकट छाएको छ ।

प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि अहिले सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ भने नेकपाका दुई समूह हरेक दिन सभा सम्मेलन, जुलुस, आन्दोलन, र्यालीमा व्यस्त छन् । जसका कारण कोरोनापछि तंग्रिन थालेको मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । यस्तो अवस्थामा विदेशी लगानीको प्रतिबद्धता आउन भएको देखिएको छ ।

लगानीको प्रतिबद्धता आएको कुल रकममध्ये सबैभन्दा धेरै ७६ करोडभन्दा बढी रुपैयाँ पर्यटन क्षेत्रका लागि मात्रै आएको छ । साथै अन्य क्षेत्रहरु कृषि, उत्पादन, सूचना तथा प्रविधि, जलविद्युतलगायतको क्षेत्रमा निकै कम लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु