सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कल्यानपुर भेडियामा



काठमाडौं । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका-७, भेडियामा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिकारुपमा दीपेन्द्र शाहलार्ई नियुक्त गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका सिराहाका अध्यक्ष रामचन्द्र ठाकुर, वडा नम्बर ७ का अध्यक्ष रामकुमार श्रेष्ठ र बैंकका प्रदेश नम्बर २ का प्रमुख रोहितकुमार महाशेठको उपस्थिती थियो ।  कार्यक्रममा सनराइज बैंकका मिरचैंया शाखाका शाखा प्रबन्धक र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु बिस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु