हुलाकको सेवा प्रभावकारी बनाउन ‘गुगल प्लस कोड’ कार्यान्वयनमा ल्याउँदै सरकार



काठमाडौं । हुलाक सेवालाई प्रभावकारी बनाउन गोश्वारा हुलाक कार्यालय, काठमाडौंले गुगल प्लस कोड प्रयोगमा ल्याउने भएको छ ।

यसका लागि अहिले गुगल प्लस कोड प्रयोग तथा सञ्चालन कार्यविधि तयार पारी निर्णयको अन्तिम पर्खाइमा रहेको कार्यालयका प्रमुख प्रधुम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार यो सेवा प्रयोग र सञ्चालनमा आएपछि सार्वजकि सेवा लिनका लागि सहज हुनेछ ।

‘यो सेवा प्रयोगमा आएपछि हुलाकमार्फत् सामान प्राप्त गर्नका लागि हाल भइरहेको लोकेसनको समस्या हट्नेछ, हाल लोकेसन दिनका लागि निकै गाह्रो छ । तर अब यो कोड प्रयोग गरेपछि निकै सहज हुनेछ,’ उनले भने ।

उनका अनुसार गुगल प्लस कोड निःशुल्क रुपमा प्रयोग गर्न पाइन्छ । यसका लागि गुगलमा उपलब्ध सेवालाई हुलाक कार्यालयले सार्वजनिक सेवा प्रवाहमा सहजता होस् भन्ने उद्देश्यले प्रयोगमा ल्याउन लागेको हो । शुरुमा हुलाक र पछि अन्य सार्वजनिक सेवा प्रवाहका लागि समेत यसको उपयोग गर्न सकिने उनले बताए ।

अहिले हुलाकमार्फत् कुनै सामान ल्याउँदा जिल्ला, पालिका, वडा नम्बर, टोल, घर नम्बरसँगै सम्पर्क फोन नम्बर दिनुपर्ने तर त्यति हुँदा पनि ठ्याक्कै लोकेसन पत्ता लगाउन नसकिने अवस्था छ ।

अव्यवस्थित सहरीकरणका लागि यो समस्या अझै लामो समयसम्म रहने निश्चित छ । यसै समस्यालाई समाधान गर्नका लागि गुगल प्लस कोड प्रयोगमा ल्याउन लागिएको हो ।

कसरी प्रयोग गर्ने ?
यदि तपाईंले हुलाक वा अन्य कुनै ठाउँबाट सामान मगाउनु पर्दा लोकेसनको जानकारी फोनबाटै दिनुपर्ने हुन्छ । त्यो पनि स्पष्ट नहुन सक्छ । यही समस्या समाधानका लागि हुलाक कार्यालय काठमाडौंले गुगलमा भएको गुगल प्लस कोड सेवालाई प्रयोगमा ल्याउन लागेको हो ।

तस्बिरमा गोलो लगाइएको कोड नै गुगल प्लस कोड हो ।

यसका लागि तपाईं सबैभन्दा शुरुमा आफूलाई सामान प्राप्त गर्नुपर्ने स्थानमा गुगल म्यापमा गएर ‘लङ प्रेस’ गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले थिचिरहेको लोकेसनमा रातो रंगमा ‘ड्रप पिन’ देखिन्छ । ड्रप पिन देखिएपछि गुगल प्लस कोड जेनेरेट हुन्छ । मोबाइलको स्क्रिनलाई अलिकति माथि सार्नु भयो भने त्यहाँ पाँच वटा थोप्लो भएको आइकन देख्न सक्नुहुन्छ । त्यससँगै एउटा कोड पनि जेनेरेट भएको हुन्छ । जसले तपाईं कुन लोकेसनमा हुनुहुन्छ भन्ने जानकारी दिन्छ ।

उक्त कोड जेनेरेट भएपछि हुलाकबाट सामान पठाउँदा वा प्राप्त गर्नका लागि आफ्नो नाम र जिल्लासँगै उक्त कोड राखिदिनु भयो भने हुलाकका हल्काराले तपाईंले भनेको लोकेसन ट्रयाक गर्न सक्छन् । त्यसपछि तपाईंले भनेकै स्थानमा सामान ल्याउन सहज हुन्छ ।


क्लिकमान्डु