सामाजिक सुरक्षा कोषको सेवा पनि अब नागरिक एपबाटै



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजि सुरक्षा कोषमा आबद्ध रोजगारदाता तथा श्रमिकले नागरिक एपको सहयोगबाट विभिन्न सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै सेवालाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त व्यवस्था मिलाएको हो ।

‘लाइन होइन अनलाइनबाट २४सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने मूल नाराका एप सार्वजनिक भइसकेको छ । साथै, सरकारले प्रविधिको अधिकतम प्रयोग गरी आम जनतालाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ ।

यससँगै सरकारले प्रवाह गर्ने सेवाहरूलाई डिजिटलाइज गर्ने एकीकृत प्लेटफर्ममार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम मोबाइलबाट हात हातमै नागरिक एपमार्फत सेवा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

सोही अनुसार कोषले पनि नागरिक एपमार्फत् सेवा प्रवाह गर्ने हुँदा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणहरूको जानकारी लिनका लागि योगदानकर्ताहरूलाई एप प्राप्त गरी सेवा प्राप्त गर्न आग्रह गरेको छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोकर्ताहरूले प्ले स्टोर र आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट नागरिक एप डाउनलोड गर्न सक्नेछन् । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत् एपको प्रयोग गर्न सकिनेछ । साथै, एपको प्रयोग गरी सेवा प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिलेआफ्नो नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एपको विवरण उल्लेख गर्नुपर्नेछ ।

कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमैत्री बनाउने अद्देश्उअनुरुप नागरिक एपमार्फत् सर्वसुलभ ढंगले मोबाइलबाटै सेवा प्राप्त गर्न सकिनेछ । त्यस्तै, यस एपको प्रयोगबाट समयको वचत हुनका साथै सार्वजनिक विदाको दिनमा पनि सेवा प्राप्त गर्न सक्ने कोषले जनाएको छ ।


क्लिकमान्डु