बिग्रेको छवी सुधार्दै व्यवसाय बढाउने यात्रामा नेपाल फाइनान्स, आगामी वर्षदेखि सेयरधनीलाई प्रतिफल



काठमाडौं । पहिलो फाइनान्सको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाइनान्स एकवर्ष अगाडि समस्याग्रस्तको सूचिबाट हट्यो ।

नेपालको पहिलो फाइनान्स कम्पनी राम्रोसँग चलेर स्तरोन्नती भएको भए वाणिज्य बैंकपनि बन्न सक्ने थियो । तर, त्यो समयमा फाइनान्स चलाउनेहरुको खराब नीतिको कारण फाइनान्स राम्रोसँग चल्न सकेन । फलस्वरुप, २०७१ सालमा नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्यग्रस्त घोषणा गर्यो ।

२०४९ सालदेखि पहिलो फाइनान्स कम्पनीको रुपमा काम गरेको नेपाल फाइनान्सले कुनैबेला छुट्टै पहिचान बनाएको थियो । तर, राम्रो छवी नेपाल फाइनान्सको हकमा सधैभरी रहेन । समस्याग्रस्त घोषणा भएपछि संस्थाले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्था आयो । सर्वसाधारणले गाँस काटेर जम्मा गरेको पैसा डुब्यो भने सेयरधनीले गरेको लगानी फिर्ता हुने आशा पनि हरायो ।

५ वर्षदेखि हराएको आशा केन्द्रीय बैंकको आफ्नो नीतिमा गरेको परिवर्तनसँगै फरक भयो । राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरन्जिवी नेपालले समस्याग्रस्त संस्थालाई हटाउनका लागि नयाँ लगानीकर्ता आएमा त्यो संस्थालाई चलाउन दिने नीति लिए । सो अनुसार आधा दर्जनभन्दा बढी संस्थामा नयाँ लगानीकर्ता आए । संस्थामा निक्षेपकर्ताको डुबेको पैसा फिर्ता भयो । कतिपय संस्था त वाणिज्य बैंकसँग गाभिए ।

यही नीति अनुसार नेपाल फाइनान्समा प्रा.डा हिरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ लगानीकर्ताको प्रवेश भयो । राष्ट्र बैंकले गतवर्षको मंसिरदेखि समस्याग्रस्तको सूचिबाट हटायो । प्रमुख कार्यकारी अधिकृतमा नयाँ लगानीकर्ताको समूहले उद्धवराज थपलियालाई नियुक्त गर्यो ।

थपलियाको नेतृत्वको टोली अहिले नेपाल फाइनान्सको बिग्रेको छवीलाई सुधार गर्ने प्रयासमा छ । संस्थाको नेतृत्व लिन आउदा १५ करोडमा रहेको खराब कर्जा ६ करोडमा झरेको छ । चुक्ता पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

ललितपुर फाइनान्सलाई गाभ्ने सम्झौता नेपाल फाइनान्सले गरिसकेको छ । त्यसपछि चुक्ता पूँजी ५५ करोड पुग्नेछ । पुस मसान्तको विवरणअनुसार फाइनान्स २० करोड निक्षेप संकलन गरेर ८ करोड रुपयाँ कर्जा फाइनान्सले दिएको छ ।

यसलाई आगामी दिनमा बढाउने योजना फाइनान्सको छ । आगामी वर्षको मंसिरसम्म तोकिएको पूँजी पुर्याउने र राष्ट्र बैंकमा समस्याग्रस्तबाट हट्दा बुझाएको योजना अनुसार फाइनान्स चलाउन सक्ने सीइओ थपलियाको योजना छ । र, उनी यही कार्यका लागि लागीपरेका छन् ।

सीइओको थपलियाले फाइनान्सको लागि कस्ता योजना बनाएका छन् क्लिकमाण्डूले गरेको उनीसँग कुराकानी समेत गरेको थियो ।

बिग्रेको संस्थालाई सुधार गर्न कत्तिको कठीनाइ हुने रहेछ ?

नयाँ संस्थाभन्दा बिग्रेको संस्थालाई सञ्चालन गर्न कठीनाइ हुन्छ । हामीले योभन्दा अगाडि बिग्रेको संस्थालाई चलाएका थियौ । विगतको अनुभवले नेपाल फाइनान्सलाई सुधार गर्ने काम गरिराखेका छौ ।

नेटवर्थ कहिलेदेखि पोजेटिभ होला ?

यो आर्थिक वर्षदेखि पोजेटिभरुपमा लैजाने गरेर काम गरेका छौ । एउटा हामीसँग ११ करोडजतिको गैर बैंकिङ सम्पत्ति छ । त्यसको बिक्रीको प्रक्रिया हामीले शुरु गर्ने तयारीमा छौं । १ करोडजतिको लगानी छ । हाम्रो करिब घाटा ८ करोड जति हो । हामीले त्यो सबै बिक्री गर्दा फाइनान्सलाई नाफामा लैजान सक्छौ ।

यस्तो प्रतिस्पर्धाको अवस्थामा बिग्रेको फाइनान्स कम्पनी चलाउन सकिन्छ जस्तो लाग्छ ?

फाइनान्स कम्पनीको ग्राहक फरक नै हुने हो । वाणिज्य बैंकहरुबीच नै मर्जरको चर्चा निकै छ । विकास बैंकको समेत संख्या घटेको छ । फाइनान्स कम्पनीको छुट्टै बजार हुन्छ । त्यो हुँदा हामीले बजारमा प्रतिस्पर्धा गर्न सक्छौ जस्तो लाग्छ ।

नेपालको पहिलो फाइनान्स समस्याग्रस्त भयो । नयाँ लगानीकर्ता आएपछि पुनः सञ्चालनमा आएको एकवर्ष भयो । एकवर्षमा कस्तो प्रगति गर्न सफल हुनुभयो ?

नेपालको सबैभन्दा पुरानो फाइनान्स कम्पनी भएपनि यो खारेजी हुने अवस्थामा पुगेको थियो । सेयरधनीहरुले सेयर प्रमाणपत्र नलिएर यसलाई बिर्सेको अवस्था थियो । यसमा नयाँ लगानीकर्ताको रुपमा प्रा.डा हिरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ लगानीकर्ताको समूह प्रवेश गर्यो । त्यसपछि नयाँ लगानीकर्ताका तर्फबाट सीइओको रुपमा म आएँ ।

हामीले ५ वर्षे आफ्नो योजना राष्ट्र बैंकमा बुझायौ । हामीले रिकभर गर्यौ । हामीलाई राष्ट्र बैंकले २०७६ सालको मंसिर २५ गते समस्याग्रस्तबाट मुक्त गर्यो । त्यो बेला १५ करोड खराब कर्जा थियो । अहिले त्यो ६ करोडमा झरेको छ । हामीले ९ करोड खराब कर्जामात्र उठाउन सफल भयौ । संस्थाको सञ्चित नोक्सानी निकै नै बढी थियो । त्यसालाई हामीले ७/८ करोडमा सीमित गर्न सकेका थियौ ।

हामीले २ वटा शाखा सुविधा सम्पन्न हिसाबले स्थानान्तरण गर्यौ । न्यूरोडको शाखालाई पुल्चोकमा सार्यौ । हामीलाई ६ वटा शाखा खोल्न अनुमति राष्ट्र बैंकले अनुमति दिएको छ । राष्ट्र बैंकले हामीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएपछि चुक्ता पूँजी ३० करोड ५५ लाख पुगेको छ । सफ्टवेयर अपडेट गर्यौ । हामीले राष्ट्र बैंकमा पेश गरेको योजना अनुसार अगाडि बढाएका छौ ।

समस्याग्रस्त घोषणा भएपछि निक्षेपकर्ताले निक्षेप डुब्ने अवस्था थियो । डुबेको पैसा फिर्ता पाउँदा निक्षेपकर्ताले के भने ?

निक्षेपकर्ताले हामीलाई सकारात्मक रुपमा सहयोग गर्नुभयो । संस्था खराब भएर पैसा नै आश मारेको अवस्था थियो । अब चल्ने भएपछि थप मुद्दती निक्षेप खोलेर राख्नुभयो ।

फाइनान्स कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ राष्ट्र बैंकले तोेकेको छ । कहिलेसम्म चुक्ता पूँजी पुग्छ ?

हामीले ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने तयारीमा छौ । सम्झौता भएको छ । त्यसपछि हाम्रो चुक्ता पूँजी ५५ करोड रुपैयाँ पुग्छ । ५५ करोड पुगेपछि हामीले २०७८ मंसिर २५ सम्म तोकिएको चुक्ता पूँजी पुर्याउनुपर्छ । हामी मर्जर तथा एक्विजेशनमा गएनौ भने हकप्रद जारी गरेर भएपनि चुक्ता पूँजी पुर्याउन सकिन्छ । तोकिएको समयमा चुक्ता पूँजी पुग्छ ।

पूँजी पुगेपछि फाइनान्स कसरी चल्छ ?

यो आर्थिक वर्षमा हामीले ६ वटा शाखा खोल्ने छौ । ललितपुर फाइनान्सलाई गाभेपछि १३ वटा शाखा पुग्छ । त्यसपछि १५ वटा जति शाखा खोल्ने योजना बनाएका छौ ।

सेयरधनीले प्रतिफल पाउन कति समय कुर्नुपर्ला ?

हाम्रो योजना अनुसार भयो भने हामीले आगामी वर्ष लाभांश दिन सकिन्छ जस्तो लाग्छ । त्यो अनुसार अहिले फाइनान्स कम्पनीलाई संचालन गरेको अवस्था छ ।

बिग्रेको संस्था चलाउन चुनौती के हुने रहेछ ?

राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था पालना गर्दै लैजानुपर्ने हुन्छ । धेरैकुरा बनाएर लैजानुपर्छ । दक्ष कर्मचारीलाई व्यवस्थापन गर्ने चुनौती हो । नयाँ कर्मचारीलाई तालिम दिने तरिकाबाट गएका छौ ।

अहिले फाइनान्सको वित्तीय अवस्था के छ ?

पुस मसान्तको बेसमा खराब कर्जा ४० प्रतिशत छ । प्रतिशतको रुपमा ४० भएपछि ६ करोड मात्र हो । पहिला हकप्रद सेयर र शाखा विस्तार र आन्तरिक व्यवस्थापन काम गर्यौ । हामीले २÷३ वटा शाखा खोल्ने तयारीमा छौ । एक महिनाभित्रमा ३ वटा शाखा थपिन्छ । त्यसपछि व्यवसाय थपिन्छ । नयाँ व्यवसाय थएपछि एनपीएल घट्छ भने अब ३ करोडजति ऋण उठ्ने प्रक्रियामा छ ।

बिग्रेको संस्था सुधार गर्ने काम गर्नु भएको छ । के कारण संस्था बिग्रने रहेछ ?

संस्थागत सुशासनको कमीको कारण बिग्रने हो । सानो लापरवाहीले गर्दा संस्थामा समस्या आउने गर्छ ।


क्लिकमान्डु