९ जना संसदीय समितिका सभापतिले फिर्ता गरेनन गाडी, एकजनाले मात्रै बुझाए



काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्र्तगतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् ।

संसद बिघटनसँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सेवा सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा बिघटनसँगै प्रतिनिधिसभाका सदस्यहरुको सांसदका हैसियतले सरकारले उपलब्ध गराउदै आएका सेवा सुविधा पनि खोसिएका छन् ।

तर प्रतिनिधिसभा अन्र्तगतका १० वटा विषयगत समितिका सभापतिमध्ये ९ जना सभापतिले अझै पनि सभापति भए वापत सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेका छन् ।

बिघटित प्रतिनिधिसभा अन्र्तगतका समितिका सभापतिहरुमा उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टीले, लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो । बाँकी ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो । पार्टीभित्रको आन्तरिक किचलोमा २ समूहमा विभाजित भएका सत्तारुढ दलका कसैले पनि गाडी फिर्ता गरेका छैनन् ।

अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति बिमल श्रीवास्तव, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृति स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापति भरत शाहले संसद विघटनको ४२ दिन पुगिसक्दा पनि सुविधामा पाएको गाडी फिर्ता गरेका छैनन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले ९ वटा समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिए ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरेको सचिवालयका प्रवक्ता डा. पाण्डेले जानकारी दिए ।

संघीय संसद सचिवालयले सबै समितिको अलग अलग सचिवालय सहित सभापतिहरुलाई छुटै निजी सचिवालयको सुविधा दिने गर्दछ । समितिका सभापतिहरुले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्दछन् ।

अहिले पूर्व सभापतिहरुले नियमितरुपमा सेवा सुविधा नपाए पनि गाडीको दुरुपयोग भने गरिरहेका छन् । दुई वटा चालक, स्वकीय सचिवलगायत पदाधिकारीले पाउने सम्पूर्ण सुविधाहरु पुस ५ गते देखिनै रोकिएको छ ।

गाडी फिर्ता नगर्ने पूर्व सभापतिहरुले ड्राइभर र तेलको खर्च भने आफै बेहोरिरहेका छन् । प्रतिनिधिसभा बिघटन भएकाले सांसद वा विषयगत समितिका सभापतिको हैसियतले सचिवालयले उपलब्ध गराएको सुविधा प्रयोग गरिरहेर पूर्व सभापतिहरुले दुरुपयोग गरेको सचिवालयका प्रवक्ता पाण्डेले बताए ।


क्लिकमान्डु