स्वास्थ्य परीक्षण गर्ने १० संस्थाको सूचीकरण खारेज



काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदाको परीक्षण गर्ने १० स्वास्थ्य संस्थाको सूचिकरण खारेज गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि अनुसार निवेदन पेश नगरेको भन्दै खारेज गरेको हो ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गरी मन्त्रालयले सूचिकृत भएका स्वास्थ्य संस्थाले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क.को उपनियम (८) तथा परीक्षण गर्ने स्वास्थ्य संस्था सुचीकरण, नवीकरया तथा अनुगमन कार्य विधि, २०७२ को दफा ४ को उपदफा (१) बमोजिम निवेदन पेश नगरेकोले मन्त्रालयले सूचीकरण खारेज गरेको जनाएको छ ।

परीक्षण स्वास्थ्य संस्थाले प्रत्येक आर्थिक वर्षमा पुस मसान्तभित्रमा र विशेष कारण परी समयभित्र नवीकरणको निवेदन दिन नसकेमा खुलाई थप १५ दिनभित्र नवीकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।

तर, उक्त समयावधि भित्र नवीकरणको लागि निवेदन पेश नगर्ने स्वास्थ्य संस्थाले कानून बमोजिम अनुसार सूचीकरण खारेज गरेको मन्त्रालयको भनाइ छ ।

मन्त्राललयमा सूचीकरण खारेज गरेको स्वास्थ्य संस्थाहरूमा महाराजगञ्जस्थित रहेको सुधा हेल्थ एण्ड मेडिकल सेन्टर, त्रिपुरेश्वरको साउदी नेपाल मेडिकल सेन्टर प्रालि, जनकपुर धनुषाको अनुरोध पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रालि, झापामा रहेको गोदावारी डाइगनोष्टिक सेन्टर प्रालि र रानीवारी काठमाडौंमा रहेको पर्फेक्ट डायनोष्टिक सेन्टर प्रालि छन् ।

त्यस्तै, अन्य महाराजगञ्जस्थित रहेको मेट्रो काठमाडौं अस्पताल प्रालि, जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि सातदोबाटोमा रहेको अल्का पोलिक्लिनिक प्रालि, पिंगलास्थानको रिलायवल मेडिकल मेडिकल सेन्टर प्रालि र झापामा रहेको कन्काइ डायग्नोष्टिक सेन्टर प्रालि रहेको छ ।

साथै, मन्त्रालयले सूचीकरण खारेजीमा परेका स्वास्थ्य संस्थाहरूमध्ये सूचीकरण गर्ने क्रममा जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको अवस्थामा धरौटी रकम फिर्ता लिन आग्रह गरेको छ ।


क्लिकमान्डु