एक महिनामा साढे १३ लाखभन्दा बढी जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिनामा १३ लाख ७४ हजार रुपैयाँ विभिन्न व्यवसायीलाई जरिवाना गरेको छ । केही हप्ता अगाडि खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएको भन्दै विभागले उक्त उद्योग तथा व्यापारीहरूमा अनुगमन गरेको थियो ।

सोही अनुरुप बारास्थित दुई वटा तेल उद्योगले अत्यधिक मूल्य बढाएको भन्दै ३/३ लाखको दरले जरिवाना गरेको थियो । साथै, बजारमा निर्माण सामग्रीको काम गर्ने सिजनमै मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाउँदै आएका थिए ।

त्यति मात्र नभई व्यवसायीहरूले लिखित रुपमै निवेदन पेश गरी अनुगमन गर्न माग गरेको थियो । सोही अनुसार विभागको अनुगमन र निर्माण व्यवसायीको दबाबपश्चात निर्माण सामग्री स्टिल तथा छडमा भने केही मूल्यमा गिरावट आएको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै, विभागले सेवाग्राहीको गुनासोको आधारमा अनुगमन गर्ने गरेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उनका अनुसार बजारमा विभिन्न समयमा विभिन्न प्रकारमा वस्तु तथा सेवामा मूल्य बढिरहेको छ । यसले गर्दा सेवाग्राहीले आफै विभागलाई सूचना दिई सोही अनुसार बजार अनुगमन गरी कारबाहीको दायरामा ल्याएको बताए ।

विभागले पुस महिनामा ३ सय ५१ वटा व्यवसायी तथा उद्योगमा अनुगमन गरेको थियो । त्यसमा सामान्य अवस्थामा १ वटा मात्रै व्यवसायी रहेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, सामान्य कैफियतमा तत्कालै सुधार गराइएको वा सुधार गर्न निर्देशन दिएको व्यवसायी उद्योग १६८ रहेको छ । विभागले अनुगमन गरेको ३५१ व्यवसायी तथा उद्योगमध्ये ६६ वटालाई आवश्यक कागजात वा स्पष्टिकरण पेश÷बयान गर्न बोलाएको संख्या छ ।

साथै, विभागले १०९ वटा फर्मलाई जरिवाना गरेको छ । जसमा जरिवाना गरिएकोमा अण्डा तथा दाना फर्मलाई २ लाख ५ हजार, आयातकर्तालाई १० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सलाई ३० हजार, उद्योगलाई १ लाख ५५ हजार, किराना पसललाई ६७ हजार, खाद्यान्न ४ लाख ४५ हजार गरेको छ ।

त्यसैगरी निर्माण सामग्री व्यवसायीलाई ८० हजार, फर्निचर तथा फर्निसिङलाई १ लाख ४५ हजार, मदिरा पसलाई ४० हजार, हार्डवेयरलाई १ लाख ५ हजार रुपैयाँसहित अन्य व्यवसायीलाई ऐन अनुसार व्यापार नगरेको भन्दै जरिवाना गरेको छ ।

१ लाखबढीको खाना अयोग्य सामग्री नष्ट
विभागले दैनिक अनुगमनबाट एक महिनाको अवधिमा १ लाख ३३ हजार रुपैयाँ मूल्य बराबरको खाना अयोग्य वा म्याद सकिएको सामग्री नष्ट गर्न लगाएको छ । जसमा किराना पसलबाट ५ हजार ९ सय ३०, खाद्यान्नबाट ५३ हजार ५८०, मदिरा पसलबाट ६५ हजार ६ सय र मार्टबाट ६ हजार ८ सय रुपैयाँ मूल्यको सामग्री नष्ट गरेको छ ।


क्लिकमान्डु