धेरैलाई मालिक बनाउने नेपाल लाइफको ‘स्टक स्प्लिट’ रणनीति, लगानीकर्तालाई फाइदा के ?



काठमाडौं । देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले सेयर खण्डिकरण अर्थात् स्टक स्प्लिट गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।

कम्पनीको साधारणभा यही माघ २८ गते हुने सूचना माघ ६ गते सार्वजनिक भएको छ । उक्त सूचनामा स्टक स्प्लिट गर्ने प्रस्ताव उल्लेख छ ।

स्टक स्प्लिटसको प्रस्ताव साधारणसभाले पारित गरेको खण्डमा नेपाललाइफको अहिले भएको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँबाट ५० रुपैयाँमा झर्ने छ । र, कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर १० करोड ९९ लाख २३ हजार २ सय १६ कित्ता हुनेछ ।

कम्पनीले माघ  १३ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । अर्थात् माघ  १३ गतेसम्म नेपाल लाइफको सेयर किन्ने लगानीकर्ताले कम्पनीले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश पाउने छन् ।

माघ २८ गते तपाईंसँग १०० कित्ता सेयर छ भने साभारणसभाले ३१ प्रतिशत बोनस सेयर पारित गरेपछि अर्थात् माघ २९ गतेदेखि तपाईंसँग १३१ कित्ता सेयर हुन्छ । र, पछि त्यो सेर खण्डिकरण भएर २६२ कित्ता अर्थात् दोब्बर हुन्छ । सेयर खण्डिकरणपछि मूल्य समायोजन हुँदा आधा मूल्यमा समायोजन हुनेछ ।

नेपाल लाइफले माघ ६ गते सेयर स्प्लिट गर्ने प्रस्ताव गरेपछि सेयर मूल्य उछालिएको छ । यसमा आम लगानीकर्ताको बुझाइ कम भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । लगानीकर्ताहरुले नेपाल लाइफको सेयर संख्या दोब्बर हुने भयो भन्दै धमाधम सेयर किनिरहेका छन् ।

तर, सेयर स्प्लिटपछि आधा मूल्यमा मूल्य समायोजन हुने कुरातर्फ ध्यान दिएको देखिँदैन ।

उदाहारण नै हेरौं । माघ ५ गते नेपाल लाइफको प्रतिकित्ता सेयर मूल्य २४६५ रुपैयाँ रहेको थियो । ६ गते स्टल स्प्लिटको सूचना सार्वजनिक भएपछि एकैदिन २२४ रुपैयाँले बढ्यो । र, फेरि ७ गते १९६ रुपैयाँले बढेर २८८५ रुपैयाँ पुग्यो । माघ ८ गते फेरि २३ रुपैयाँले बढेर २९०८ रुपैयाँ पुग्यो । माघ ११ गते भने ५९ रुपैयाँले २८४९ रुपैयाँम झरेको छ । स् स्टक स्प्लिटको सूचना आउनुअघिको एक सातामा जम्मा २९ रुपैयाँले मात्रै बढेको नेपाल लाइफको सेयर त्यसपछिको ४ कारोबार दिनमै नेपाल लाइफको प्रतिकित्ता सेयर मूल्य ४८४ रुपैयाँले बढेको छ ।

स्टक स्प्लिटको निर्णयले कम्पनीको सेयर मूल्य घट्नुपर्नेमा खरिदकर्ताको चाप बढ्न गई मूल्य झन् बढेको देखिन्छ ।

नेपाल लाइफले गर्न खोजेको स्टक स्प्लिटको अर्थ के हो भने हिँजोको भन्दा सेयर संख्या दोब्बर हुनेछ । र, सेयरको मूल्य भने समायोजन पछि कम हुनेछ ।

किन त्यसो गर्यो त ?

कम्पनीको सेयर मूल्य बढी भएपछि यो कम्पनीको आम लगानीकर्ताको पहुँचभन्दा बाहिर पुग्छ । यस्ता पनि लगानीकर्ता हुन्छन् जसले एउटै कित्ताको हजारौं तिरेर सेयर किन्न सक्दैनन् । र, कम्पनीको सेयर पैसावालहरुको पहुँचभित्र मात्रै रहन्छ ।

हकप्रद र एफपिओ नजोडी १० हजार लगानी गर्नेलाई नेपाल लाइफले ३३ लाखको मालिक बनायो

‘सेयर संख्या बढेपछि मूल्य कम हुन्छ र बढीभन्दा बढी सर्वसाधारणहरु हाम्रो कम्पनीको मालिक होउन् भन्ने उदेश्यले स्टक स्प्लिट गर्ने निर्णयमा पुगेका हौं,’ नेपाल लाइफका सीइओ सन्तोष प्रसाईंले क्लिकमाण्डूसँग भने, ‘कम्पनीमा जति धेरै सेयरधनी हुन्छन्, त्यो कम्पनीको विश्वास त्यतिधेरै बढी हुन्छ । पब्लिक कम्पनी भनेको जनताको विश्वासमा चल्ने कम्पनी हो ।’

कम्पनीका तत्कालीन सीइओ विवेक झाले त अझ ५ वर्षअघि नै १०० रुपैयाँ रहेको प्रतिकित्ता अंकित मूल्यलाई घटाएर १० रुपैयाँमा झार्ने योजना बनाएका थियो ।

‘थोरैभन्दा थोरै पैसा भएको मान्छेले समेत नेपाल लाइफको सेयर किन्न सकोस् भन्ने उदेश्यले सेयर स्प्लिट गर्ने योजना बनाएका थियौं,’ झाले क्लिकमाण्डूसँग भने, ‘कम्पनीमा जति धेरै जनताको लगानी भयो कम्पनीको गुडविल पनि त्यति नै राम्रो हुन्छ भन्ने हाम्रो उदेश्य थियो ।

स्टक स्प्लिटले सेयर साक्षरता बढाउन महत्वपूर्ण योगदान पुग्ने झाको विश्वास छ । नेपाली बीमा कम्पनीहरुमा सबैभन्दा पहिला फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने कम्पनी हो नेपाल लाइफ । एफपिओमार्फत् डेढ लाख सर्वसाधारण नेपाल लाइफ प्रवेश गरेका थिए ।

भारतमा प्रतिकित्ता १० रुपैयाँमा र अमेरिकमा १ डलरमा सेयर किन्न पाइन्छ । तर, नेपालमा भने अंकित मूल्य १०० रुपैयाँ छ ।

लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड

तपाईंहामीले बारम्बार समाचारहरु पढ्न, सुन्न र हेर्न पाइरहेकै छौं कि बैंकिङ प्रणालीमा अधिक तरलता भयो भने ब्याजदर घट्छ र तरलता कम भयो भने ब्याजदर बढ्छ । किनभने यहाँनेतर अर्थशास्त्रको माग र आपूर्तिको सिद्दान्तले मेल खान्छ ।
कुनै पनि वस्तुको आपूर्ति स्थिर छ तर त्यसको माग बढ्यो भने मूल्य बढ्छ । तर आपूर्तिको तुलनामा माग कम भयो भने त्यसको मूल्य घट्छ । यही सिद्दान्तअनुसार बैंकिङ प्रणालीमा तरलता बढी हुँदा ब्याजदर घट्ने र तरलता कम हुँदा ब्याजदर बढ्ने हुन्छ ।

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने नेपाल लाइफले आफ्नो सेयर संख्या टुक्र्याएर आपूर्ति बढाएको छ । स्टक स्प्लिट गरेर नेपाल लाइफले आफ्नो कम्पनीको स्टक लिक्वीडीटी अर्थात् सेयर तरलता बढाएको छ ।

‘सेयर तरलता बढाएको हुनाले मूल्य समायोजनपछि यो कम्पनीको सेयर मूल्य घट्छ,’ सेयर बजारका जानकार लगानीकर्ताहरु भन्छन् ।

महंगो मूल्यका कारण वितगमा किन्न नसकेको सेयर स्टक स्प्लिटपछि घटेको मूल्यमा लगानीकर्ताहरुले किन्न सक्छन् । किनभने बजारमा राम्रो इमेज भएको र महंगो मूल्य भएको कम्पनीको सेयर त्यसको किनेर मालिक बन्ने इच्छा आम लगानीकर्ताको हुन्छ ।

यस्तो अवस्थामा डिमान्ड क्राउड पनि हुनसक्छ । डिमान्ड क्राउड भयो भने कम्पनीको सेयर मूल्य झनै बढ्नसक्ने संभावना पनि हुन्छ । सेयर संख्या धेरै भएपछि कर्नरिङ गरेर सेयर मूल्य घटाउने/बढाउने समूह पनि हावी हुने संभावना निकै कम हुन्छ ।

नेपालको सन्दर्भमा नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक स्टक स्प्लिटको अभ्यास गरेको हुँदा धेरै लगानीकर्ताहरुले सस्तोमै सेयर पाइयो भनेर उठाउने संभावना भएकाले केही समय मूल्य बढ्न सक्ने आँकलन गर्न सकिन्छ ।

यहाँनेर बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने अहिले तपाईंसँग १०० कित्ता सेयर छ भने स्प्लिटपछि २०० कित्ता हुन्छ । तर अहिले कम्पनीले ५० प्रतिशत लाभांश दिँदा तपाईंले ५० रुपैयाँ पाउनुहुन्छ भने स्प्लिटपछि ५० रुपैयाँ लाभांश पाउन कम्पनीले १०० प्रतिशत लाभांश दिनुपर्छ । किनभने कुनै पनि कम्पनीले अंकित मूल्यका आधारमा लाभांश दिने हो । अहिलेसम्म तपाईंसँग भएको सेयरको अंकित मूल्य १०० रुपैयाँ थियो भने स्प्लिटपछि ५० रुपैयाँमात्रै हुनेछ ।

अहिलेसम्म नेपाल लाइफले २० प्रतिशत बोनस सेयर दिँदा तपाईंसँग १०० कित्ता थियो भने २० कित्ता पाउनुहुन्थ्यो । अब तपाईंसँग कम्पनीको सेयर २०० कित्ता भयो । त्यसैले १० प्रतिशत बोनस सेयर दिँदै तपाईंले २० कित्ता सेयर प्राप्त गर्नुहुन्छ ।

लगानीकर्ताको विश्वास जितेका र राम्रो वित्तीय स्वास्थ्य भएका पब्लिक कम्पनीहरुले स्टल स्प्लिट गरी सप्लाई बढाउने गर्छन् । यसरी सप्लाई बढेपछि त्यो कम्पनीको सेयर किन्न नपाएकाहरुले सस्तोमै पाएको भन्दै किन्छन् । र, आकर्षण रहिरहन्छ ।

नेपाल लाइफको यो प्रयासले महंगो सेयर मूल्य भएका नेपालमा सञ्चालित दर्जन बढी कम्पनीहरुलाई स्टक स्प्लिट गर्न प्रोत्साहित गर्ने देखिन्छ । कम्पनी ऐन २०६३ले पब्लिक कम्पनीको सेयरको न्यूनतम अंकित मूल्य ५० रुपैयाँसम्म कायम गर्न सक्ने व्यवस्था गरेको छ।

विश्वविख्यात कम्पनीहरुले स्टक स्प्लिट बढाएर बढीभन्दा बढी लगानीकर्तालाई मालिक मात्रै बनाएका छैनन् । त्यसका संस्थापकहरु अर्बपति बनेका प्रसस्तै उदाहारण छन् ।


पुष्प दुलाल