आधा खर्बका ५ आयोजनाका लागि लगानीकर्ता खोज्दै चन्द्र ढकाल



काठमाडौं । सरकारले यही बैशाख १६ र १७ गते गर्दै गरेको लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आइएमई समूहका मात्रै ५ वटा आयोजना शोकेसमा परेका छन् ।

आइएमई ग्रुप अन्तर्गतका यी ५ आयोजनाको लगानी आधा खर्ब रुपैयाँभन्दा बढीका छन् । लगानी सम्मेलनमा निजी क्षेत्र अन्तर्गत शोकेसको सूचीमा परेको यी आयोजनामा एउटा सिमेन्ट उद्योग, दुईवटा जलविद्युत् र दुईवटै केवलकार परेका छन् ।

लगानी सम्मेलनमा शोकेसमा राखिने आइएमई ग्रुपका जलविद्युतका आयोजानामा ५३.५३ मेगावाटको मिडिल कालिगण्डकी जलविद्युत् आयोजना र ५८ मेगावाटको तिप्लिङ कालिगण्डकी जलविद्युत् आयोजना परेको छ ।

मिडिल कालिगण्डकी धौलागिरिको कालिगण्डकी खोलामा निर्माण हुँदै गरेको आयोजना हो । नदी प्रवाहमा आधारित यो आयोजनाले प्रतिघण्टा ३१०.६५ गिगावाट विजुली उत्पादन गर्न सक्ने क्षमता छ ।

तिप्लिङखोला मस्याङदी जिल्लाको कालिगण्डकीमै निर्माण हुँदै गरेको आयोजना हो । यो आयोजना सन् २०२५ बाट अगाडि बढाउने योजनामा निर्माण कम्पनी आइएमई ग्रुपले जानकारी दिएको छ । यी दुबै आयोजनाकोबाट हुने विजुली उत्पादन १११ मेगावाटको हो । औषतमा प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गर्ने हो भने यी दुई आयोजना बनाउँदा २२ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ ।

लगानी सम्मेलनमा शोकेसमा राखिएको उत्पादनमूलक उद्योग अन्तर्गत आइएमई सिमेन्ट परेको छ । बैतडीमा खोल्न लागिएको यो सिमेन्ट उद्योगमा २५ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ ।

आगामी ५ वर्षभित्रै यो आयोजना निर्माण गरेर भारतमा सिमेन्ट निर्यात गर्ने यो कम्पनीको योजना छ । लगानी सम्मेलनको सोकेसमा राखिएको यो सिमेन्टमार्फत लगानी भित्र्याएर ठूलै स्केलको उद्योग सञ्चालन गर्ने तयारीमा आइएमई ग्रुप छ ।

नेपालबाट ठूलो परिमाणमा भारततर्फ सिमेन्ट निर्यात हुने सम्भावनाका कारण पनि आइएमई ग्रुप सिमेन्ट उद्योगमा आकर्षित भएको हो ।

७ वटा प्रदेशमा सातवटै केबलबार बनाउने घोषणा गरेको यो समूहले लगानी सम्मेलनमा कास्कीको सिक्लेसमा निर्माणाधीन सिक्लेस अन्नपूर्ण केवलकार शोकेसमा राखेको छ । आइएमई ग्रुपकै दुई वटा केबलकारमध्ये सिक्लेस अन्नपूर्ण केबलकारमा करिब ७ अर्ब रुपैयाँ लगानी हुने छ । यो केवलकारले प्रतिदिन ६ हजार जनालाई सेवा दिन सक्छ भने केबलकारको समय अवधि २५ मिनेटको हुनेछ ।

लगानी सम्मेलनको शोकेसमा परेको आइएमई ग्रुपकै जालपादेवी केवलकार पनि छ । यो केवलकार सुदूरपश्चिमको कैलालीमा बन्ने भएको छ । प्रतिदिन ६ हजारलाई सेवा दिन सक्ने यो केवलकार ३ वर्षभित्रमा बनाइसक्ने योजना निर्माण कम्पनीले बताएको छ ।

निर्माण कम्पनी आईएमईका अनुुसार केबलकारको क्षमता प्रतिदिन ६ हजार यात्रु ओसारपसार गर्ने रहेको छ । यस आयोजनाको लागत करिब साढे २ अर्ब रुपैयाँ रहेको छ ।

यसअघि नै बाग्मती प्रदेशमा चन्द्रागिरि र मौलाकालिका साथै लुम्बीनी प्रदेशमा लुम्बीनी केबलकार सञ्चालनमा आइसकेका छन्। कोशी प्रदेशको ताप्लेजुङस्थित पाथीभरामा पनि आइएमई समूहले नै केबलकार निर्माणको प्रक्रिया अघि बढाएको छ ।

सेवा क्षेत्रमा स्थापित आइएमइ समूह पछिल्लो समय उत्पादनमूलक उद्योगमा पनि प्रवेश गर्न थालेको छ । छोटो समयमै व्यवसायमा उल्लेख्य सफलता हासिल गरेको आइएमई समूह आक्रामकरुपमा व्यवसाय विस्तार गर्ने थोरै ब्यापारिक घरानामध्ये पर्छ ।


क्लिकमान्डु