चीनसँगको सम्बन्ध जटिल तर महत्त्वपूर्ण: युरोपियन युनियन

चिनियाँ राष्ट्रपति सी तीनदिने भ्रमणका लागि युरोपमा



एजेन्सी । युरोपियन युनियनकी प्रमुख उर्सुला भोन लेयानले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्ताको क्रममा चीनसँग निष्पक्ष प्रतिस्पर्धाका लागि जोड दिएको बताएकी छन् । उनले वर्तमान अवस्थामा बजार पहुँचको सन्तुलन दिगो नभएको र यसलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

ईयु कमिसनकी अध्यक्ष उर्सुलाले फ्रान्समा चिनियाँ राष्ट्रपति सी र फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि यस्तो प्रतिक्रिया दिएकी हुन् । चिनियाँ राष्ट्रपति सी यतिबेला युरोपका तीन देशको भ्रमणमा छन् । पाँच वर्षपछि आइतबार युरोप प्रस्थान गरेका सीले चीनको ब्यापारिक लाभबारे आफ्नो छलफललाई केन्द्रित गर्ने बताइएको छ । यस क्रममा उनले युरोपियन युनियनका अधिकारीहरुसँग पनि भेट गरिरहेका छन् ।

युरोपियन चिकित्सा उपकरण आपुर्तिकर्ताहरुलाई खुला बजारको पहुँच दिइएको छ कि छैन भनेर गत साता युरोपियन कमिसनले अनुसन्धान सुरु गरेको थियो । वायु टर्वाइन आपूर्तिकर्ताहरु र सौर्य प्यानल ईभी र ट्रेनका लागि चिनियाँ सहुलियतबारे यस्तै किसिमको अनुसन्धानपछि र यो अनुसन्धान सुरु भएको हो ।

भक्सवागन र रेनल्ट जस्ता युरोपियन कार निर्माताहरु चिनियाँ बजारमा त्यहाँका घरेलु कार उत्पादकहरुभन्दा पछाडि रहेको बताइन्छ । जवकि चिनियाँ ईभी उत्पादकहरुले राज्यबाट पछिल्ला वर्षहरुमा अर्बौं डलर बराबरको सहुलियत पाउँदै आएका छन्।

युरोपियन युनियनका अधिकारीहरुले भने युक्रेनमाथि रुसी आक्रमणको क्रममा चिनियाँ जासुस र बेइजिङको सैन्य सहायताबारे चासो राख्दै आएका छन् । युरोपियन युनियनकी प्रमख भोन लेयानले चीनसँगको सम्बन्धमा खतरा कम गर्ने तर चीनलाई टाढा नराख्ने प्रतिक्रिया दिएकी थिइन् । जवकि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनसँग अमेरिकाले अपनाएको नीति यसको विपरीत छ ।

भोन लेयानले भनेकी छन्, “चीनसँगको सम्बन्धबारे हाम्रो प्रस्ट धारणा छ । जुन सबैभन्दा जटिल छ तर सबैभन्दा महत्त्वपूर्ण पनि ।” तर बजार विकृत अभ्यासहरु ईयूले स्वीकार नगर्ने उनको भनाइ छ ।


क्लिकमान्डु