चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक भएपछि अलिबाबाको सेयर मूल्यमा ७% को वृद्धि



 

एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा करिब ३ महिनापछि पहिलो पटक बुधबार सार्वजनिक भए । उनको एक झल्को देख्न लगानीकर्ता कति लालायित रहेका रहेछन् भन्ने बजारले प्रष्ट पारेको छ ।

बुधबार बिहान एक ५० सेकेण्ड लामो भिडियो क्लिपमा देखा परेका ज्याक मा सार्वजनिक भएपछि उनको कम्पनी अलिबाबाको सेयर मूल्यमा ७ प्रतिशतले वृद्धि भयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सो समाचारलाई विशेष महत्वका साथ सम्प्रेषण गरेका छन् ।

सो भिडियोसँगै हङकङ स्टक एक्सचेञ्जमा अलिबाबाको सेयरमा ८.५ प्रतिशतको वृद्धि देखिएको छ ।

भिडियोमा उनी १०० जना ग्रामीण शिक्षकको समारोहलाई सम्बोधन गर्दै गरेको देख्न सकिन्छ ।

उनले भनेका छन् ‘हालसालै, मेरा साथीहरू र म अध्ययन गरिरहेका छौं र सोच्दै आएका छौं । हामीले शिक्षाको परोपकारमा आफूलाई समर्पित गर्ने दृढ संकल्प गरेका छौं’ ब्लूमवर्गले प्रकाशित गरेको सामग्रीमा भनिएको छ ।

ज्याक मा फाउन्डेसनका एक प्रवक्ताले अर्बपति ज्याकले सम्बोधन गरेको र उक्त भिडियो बुधबारको नै भएको पुष्टि गरेका छन् ।

चीनले केही समय पहिले नयाँ नियमहरू लागू गरेको छ । सोही नियमका कारण अलिबाबा र एन्ट समूहको कारोबारमा सिधा असर परेको थियो ।

चिनियाँ नीतिको आलोचना गरेपछि ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

ज्याक माले अक्टोबरमा सांघाईमा आयोजित एक भाषणमा चीनको वित्तीय नियामक र सरकारी बैंकहरुको आलोचना गरेका थिए ।

यसको अर्थ उनले चीनका राष्ट्रपति सि जिनपिंगको नीतिको आलोचना गरेको बुझिएको थियो ।

ज्याक माको कम्पनीले ल्याउन लागेको ३७ अर्ब अमेरिकी डलरको आइपीओ नै चीन सरकारले रोकिदिएको थियो ।

उनीमाथि  चीनको सरकारी निकायले अनुसन्धान गरिरहेको समाचार पश्चिमा संचारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।


क्लिकमान्डु