भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने, बिहिबार आउने



काठमाडौं । भारत सरकारले नेपाललाई पहिलो चरणमा कूल १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री ह्दयेश त्रिपाठीसँगै संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर भारत सरकारका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राले सो जानकारी दिएका हुन् ।

खोप बिहिबार नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खोपको पहिलो खेप बिहिबार काठमाडौं आइपुग्नेछ ।

मन्त्री त्रिपाठीका अनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन सुरु गरिने भएको छ । पहिलो पंक्तिमा खटिनेलाई खोप लगाएपछि क्रमशः अन्यलाई खोप उपलब्ध गराइने छ । त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

भारतीइ स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको सोमबाररको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका देशमा पहिलो चरणमा सीमित संख्यामा कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

बुधबार बिहान नै एक विज्ञप्ति मार्फत भारतीय विदेश मन्त्रालयले नेपाललगायतका देशमा खोप उपलब्ध गराउन लागिएको जानकारी गराएको थियो ।

भारतले नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप उपलब्ध गराउने जनाएको छ ।

यस्तै, मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मौरिससलाई भने बायोटेक कम्पनीले उत्पादन गरेको खोप उपलब्ध गराउने तयारी गरिएको छ ।


क्लिकमान्डु