तेलमा अत्याधिक मूल्य बढाएको भन्दै अन्नपूर्ण भेजिटेबल र महालक्ष्मी सोल्भेट उद्योगलाई कारबाही



काठमाडौं । बजारमा खाने तेलको अत्याधिक मूल्य बढाएको उद्योगलाई कारबाही गरेको छ । विभिन्न स्थानबाट अत्याधिक मूल्य बढाएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले अनुगमन गरी तेल बिक्री गर्ने उद्योगलाई कारबाही गरेको हो ।

विभागले बारा जिल्लास्थित रहेको अन्नपूर्ण भेजिटेबल र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरीलाई बढी मूल्यमा बिक्री गरेको भन्दै कारवाही गरेको छ । विभागले यी दुई उद्योगीलाई ३÷३ लाख रुपैयाँको जरिवाना गरेको छ ।

पछिल्लो समय कच्चा पदार्थको अभाव देखाउँदै खाने तेलको अत्याधिक मूल्य बढाएको छ । यस प्रति धेरै गुनासो आएपछि विभागले तीब्र रुपमा उद्योगहरूमा अनुगमन शुरु गरेको विभागले जनाएको छ ।

उद्योगीहरूले बाहिरबाट ल्याइने कच्चा पदार्थमै मूल्य बढेर आएको भन्दै विभागसँग करिब डेढ महिना अगाडि छलफल गरेको थियो । उक्त समयमा विभागले उद्योगहरुसँग कच्चा पदार्थ आयात गरेको लागतको विवरण माग गरेको थियो । माग गरेको सोही विवरण अनुसार विभागले अध्ययन शुरु गरेको विभागका प्रवक्ता एवं निर्देशक शिवराज शेढाईंले जानकारी दिए ।

विभागले गरेको अध्ययन अनुसार आयातित कच्चा पदार्थको लागत र उत्पादन गरेको खर्चको लागत हेर्दा अस्वभाविक पाइएपछि दुई उद्योगलाई जरिवानाको कारबाही गरेको उनले बताए ।
विभागले देशभरका १६ वटा उद्योगलाई अध्ययनको लागि कागजात माग गरेको थियो ।

उक्त माग गरेको कागजातमा आफूले बढाउनुपर्ने मूल्यभन्दा बढी बढाएको अवस्थामा ती दुई उद्योगलाई कारबाही गरेको विभागका प्रवक्ता शेढाईंले बताउँछन् । साथै, यी दुई उद्योगलाई अध्ययन गरेर कारबाही गरेको छ । बाँकी उद्योगको कागजात पनि अध्ययन गरी निष्कर्ष निकाल्ने उनले बताए ।

विभागले उत्पादन लागतको अनुपातमा बढी मुल्य कायम गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) विपरित खाने तेल बिक्री वितरण गरेको पाइएकोले जरिवाना छ ।
त्यसैगरी, अस्वाभाविक रुपमा बढाइएको मूल्यवृद्धि सच्याउन पनि निर्देशन उनको भनाइ छ ।


क्लिकमान्डु