१८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो, यस्तो छ कारण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ९ प्रतिशतभन्दा बढी मूल्य बढ्ने कम्पनीमा कतिपय भर्खरै आईपीओ जारी गरेका छन् भने कतिपय धेरै पुराना तर लाभांश नदिने कम्पनी पनि छन् ।

सोमबारको कारोबारमा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १० प्रतिशतले बढ्यो । अर्थात् सकारात्मक सर्किट लाग्यो । अहिले सिभिलको सेयर मूल्यमा उतारचढाव आउनुको उल्लेख्य कारण केही देखिन्न् ।

कम्पनीले लगानीकर्तालाई धेरै लाभांश दिएको पनि छैन । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३.५ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.१८ प्रतिशत नगदसहित ३.६८ प्रतिशत बोनस सेयर मात्रै दिएको छ ।

अन्य कम्पनीको तुलनामा यो कम्पनीले लगानीकर्तालाई थोरै नै लाभांश दिने प्रस्ताव गरेको छ । तर अघिल्ला आर्थिक वर्षहरुमा कम्पनीको लाभांश दर उल्लेख्य धेरै थिएन ।

आव २०७५/०७६ मा १० प्रतिशत लाभांश दिएको कम्पनीले त्यसअघिको तीन वटा आर्थिक वर्षमा क्रमशः २०७२/०७३, २०७३/७४, २०७४/७५ मा क्रमशः ५.२६, ४.७३ र ७.५ प्रतिशत लाभांश दिएको थियो । सोमबार उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६८ रुपैयाँ पुगेको छ ।

सोमबारको कारोबारमा धेरै बिशाल बजार कम्पनी पनि छ । कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यो कम्पनीले अहिलेसम्म लाभांश दिएको रेकर्ड पनि छैन ।

समयमा नै साधारणसभा गर्न नसकेर निकै विवादमा रहेको छ । यतिबेला यो कम्पनीको सेयर मूल्यमा निकै सुधार देखिएको छ । जानकारहरुका अनुसार कम्पनीको सेयर मूल्य बढ्नुमा कर्नरिङ गर्नेहरुले खेलिरहेका छन् ।

अहिले बिशाल बजार कम्पनीको सेयर कुनै संस्था वा समूहले खरिदगरी नियन्त्रणमा लिने र समूहभित्र नै रहने गरी कारोबार गर्ने प्रवृति हावी देखिएको छ । अहिले केही लगानीकर्ताहरुले आफू अनुकुल सेयर मूल्य बढाउने, अधिकांश सेयर आफ्नै समूहसँग राख्ने र बढी मूल्यमा बिक्री गर्ने क्रम बढेको छ ।

अर्को कम्पनी रहेको छ, गोर्खाज फाइनान्स । कम्पनीले अहिलेसम्म लगानीकर्तालाई लाभांश दिएको छैन । कम्पनीको कमजोर वित्तीय अवस्थाका कारण लाभांश दिन सकेको छैन । तर पनि सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३२० रुपैयाँ पुर्याईएको छ ।

कम्पनीको सेयरमा ठूला लगानीकर्ताले खेल्न थालिएको चर्चा छ । अर्को कम्पनी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर १७६६ रुपैयाँ प्रति कित्ता पुगेको छ । यो कम्पनीले विगत दुई आर्थिक वर्षमा राम्रो लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको लाभांश २० प्रतिशतभन्दा बढी छ । जसको कारण पनि सेयर मूल्य बढेको देखिएको छ ।

अहिले हल्लाको भरमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य बढिरहेको छ । बजारका केही खेलाडी भन्नेहरुले सामाजिक सञ्जालको गलत प्रयोग गरेर कम्पनीको सेयर मूल्य बढाउने काम गरेका छन् । अहिलेसम्म कम्पनीले लगानीकर्तालाई लाभांश दिन सकेको छैन । तर अहिले हकप्रद सेयर दिने प्रलोभनमा पारेर सेयर मूल्य बढाउने काम भइरहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतितश हकप्रद सेयर बिक्री गर्न पुस २९ गते नै बुक क्लोज गरेको छ । बैंकले माघ १३ गतेबाट प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । त्यति मात्रै नभएर अहिले १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा पुनः २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न भन्दै बैंकले माघ १६ गते वार्षिक साधारणसभा बोलाएको छ ।

त्यसले गर्दा पनि कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिएको छ । सोमबार कम्पनीको ९.९६ प्रतिशतले बढेर ६१८ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

त्यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले अहिलेसम्म लाभांशको प्रस्ताव गरेको छैन । तर विभिन्न संस्थालाई मर्जर गर्ने क्रममा रहेको छ ।

संस्थाले सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, शालिग्राम लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको कारण पनि सेयर मूल्यमा बढोत्तरी देखिएको छ । लाभांशको पछि कुदने लगानीकर्तालाई अहिलेसम्म कम्पनीले लाभांश भने दिएको छैन ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ३३.०६ प्रतिशत लाभांश दिएको थियो । गत आवको नाफाबाट अहिलेसम्म लाभांश घोषणा गरेको छैन । तर पनि कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १२४९ रुपैयाँ रहेको छ ।

समिट लघुवित्त वित्तीय संस्थाको पनि सेयर मूल्य ९.९५ प्रतिशतले बढेर ११६० रुपैयाँ पुगेको छ । यसअघिका ८ वटा आर्थिक वर्षमा कम्पनीले धेरै नै राम्रो लाभांश दिएको थियो । आर्थिक वर्ष २०७६/७७ को लाभांश भने घोषणा गरेको छैन ।

त्यसअघिका आवहरुमा १५ देखि ४७ प्रतिशतसम्म लाभांश दिएको थियो । अघिल्ला आवहरुमा लाभांश धेरै दिएका कारण पनि गत आवको लाभांश राम्रो आउने अपेक्षाले लगानीकर्ताको ध्यान कम्पनीमा बढेको छ ।

सोमबार गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर ११२७ रुपैयाँ पुगेको छ । हकप्रद आउने हल्लाले सेयर मूल्य बढाइएको जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढेर ३३४ रुपैयाँ छ । यसअघिका वर्षको कम्पनीको लाभांश दर अन्य कम्पनीको दाँजोमा त्यती प्रभावकारी छैन । तर पनि हकप्रदको आशा देखाएर सेयर मूल्य भने बढाइनै रहेको छ ।

नगद लाभांश मात्रै दिने तारागाँउ रिजेन्सीको सयेर मूल्य पनि ९.८७ प्रतिशतले बढेर ३३४ रुपैयाँ पुगेको छ । गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने भएको छ ।

अहिलेसम्म लाभांश नै नदिएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८७ प्रतिशतले बढेर ४१२ रुपैयाँ प्रतिकित्ता पुगेको छ । लगानीकर्तालाई लाभांशको लागि सधै जिल्ल बनाउने नेपाल फाइनान्सको अवस्था पनि उस्तै छ । तै पनि सेयर मूल्यमा ९.७६ प्रतिशतले बढेर २७० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय जलविद्युत कम्पनीको सेयर मूल्यमा सुधार आउने क्रम बढेको छ । सोमबारको कारोबारमा वरुण हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतले बढेर प्रति कित्ता २३८ रुपैयाँ पुगेको छ । गत आवको नाफाबाट कम्पनीले सेयरधनीहरुलाई ५.२६ प्रतिशतले लाभांश दिने भएको छ ।

५ प्रतिशतभन्दा कम लाभांश दिएका कामना सेवा विकास बैंकको सेयर मूल्य पनि ९.६७ प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ । त्यस्तै लगानीकर्तालाई लाभांश नै नदिने प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि ९.४९ प्रतिशतले प्रतिशतले बढेर १५० रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

त्यस्तै अघिल्लो आव र गत आवको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिएको छ्याङदी हाईड्रोपावरको सेयर मूल्य ९.०९ प्रतिशतले बढेर प्रति कित्ता १८० रुपैयाँ पुगेको छ । यतिबेला लगानीकर्ताहरुले हल्लाको पछि लागेर भन्दा पनि कम्पनीको वित्तीय अवस्था, लाभांशको दर, कम्पनीका सञ्चालक लगायत हेरेर लगानीगर्नुपर्ने जानकारहरुको भनाइ छ ।

यस्तो छ लाभांश


क्लिकमान्डु