इक्यानको भर्चुअल शैक्षिक मेला सम्पन्न, ४५ हजारले लिए परामर्श



C

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको ४ दिने भर्चुअल बृहत्त १४औं इक्यान मेला सम्पन्न गरेको छ । कोभिडको महामारीका कारण भर्चुअलरुपमा आयोजना गरिएको यसपटकको मेलामा ४५ हजार विद्यार्थी र अभिभावक सहभागी भएको इक्यानले जानकारी दिएको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोभिडको समयमा उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन मेला सफल भएको बताए । उनका अनुसार मेलामा उल्लेख्य सहभागिताले भर्चुअल माध्यम पनि मेलाका लागि प्रभावकारी विकल्प बन्न सफल भएको छ ।

‘कोभिडका कारण यस क्षेत्रमा ठूलो असर परेको छ । तर पनि हाम्रा अगाडि अनलाइनको माध्यमबाट मेला आयोजना हुनु र विद्यार्थीहरुले पनि अनलाइनबाट कक्षा लिन सक्नछन भन्ने सन्देश पनि दिएको छ । यस अर्थमा कोभिडले निम्ताएको असरसँगै केही सकारात्मक पक्ष पनि देखिएको छ,’ उनले भने ।

मेलामा १०० भन्दा बढी इक्यानका सदस्य परामर्श दातृ संस्था, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु सहभागी थिए । मेलामा विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले उच्च शिक्षाका लागि गन्तव्य विभिन्न देशहरुले कोरोनापछि लिएको नीतिका विषयमा जानकारी प्राप्त गरेका थिए ।

साथै मेलामा विद्यार्थी तथा अभिभावकले विभिन्न देश, त्यहाँका विश्वविद्यालय तथा कलेजका साथै कोर्स, त्यसका लागि लाग्ने शुल्क, छात्रवृत्ति, भिसा प्रोसेसिङ्ग लगायतका विभिन्न जानकारी लिएका थिए ।

ईक्यानका महासचिव श्री दिपक राज भुसालका अनुसार मेला विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछिको अवस्थाबारे समेत जानकारी गराइएको थियो । ‘कोरोना महामारीपछिको अवस्थामा अहिले एनओसी खुलिसकेको छ, विभिन्न देशका भिसा कार्यालयहरु पनि खुलिसकेको अवस्था छ । र, विद्यार्थीहरुले कार्यालयमै आएर परामर्श लिन सक्ने अवस्था सिर्जना भएको छ । मेलाले यी लगायत यावत विषयमा स्पष्ट पार्न प्रभावकारी भूमिका खेलेको छ,’ भुसालले भने ।

मेला संयोजक बासुदेव दाहालका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई रिभाइभ गराउनका लागि सबैभन्दा जेठो र ठूलो संघ इक्यानले आफ्नो जिम्मेवारी समेत पूरा गरेको छ । साथै इक्यानका सदस्य संस्थाहरुलाई फेरि परामर्श क्षेत्रलाई सामान्य अवस्थामा सञ्चालन हुने अवस्था आएको जानकारी गराउन सफल भएको उनले बताए ।

यसपटकको मेलाको सबैभन्दा राम्रो पक्ष विद्यार्थी र अभिभावकले आफू बसेकै ठाउँबाट परामर्श लिन सक्नु हो । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन नसक्नेहरुका लागि मोबाइल, ल्यापटप, कम्प्युटरलगायतका डिभाइसबाट लगइन गरेर जानकारी लिन सक्नु रहेको इक्यानको भनाइ छ ।

इक्यानका अनुसार यसपटकको मेलामा देशभर सञ्चालनमा रहेको इक्यानका सदस्य संस्था सहभागी थिए । मेलामा विद्यार्थीहरुले आफूले रोजेको ठाउँ अनुसारका संस्थाका बारेमा जानकारी लिन पाएका थिए ।

मेलाको व्यवस्थापन वान अप प्रालिले गरेको थियो । कम्पनीले मेलाका लागि डेडिकेटड वेवसाइट बनाएर विद्यार्थीहरुलाई परामर्श लिनका लागि सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह समेत गर्न सफल भएको छ ।

शैक्षिक मेलाको प्रिजेन्टरमा ब्रिटिस काउन्सिल थियो भने इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन थिए ।


क्लिकमान्डु