निर्वाचनका लागि बजेट बनाउँदै आयोग, ८ अर्ब लाग्ने अनुमान



काठमाडौं । आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोग त्यसैको तयारीमा जुटेको छ । यसका लागि अहिले कति बजेट लाग्छ भन्नेमा आयोगले तयारी शुरु गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अहिले बजेट निर्माणको तयारीसँगै अर्थमन्त्रालयसँग पनि छलफल अगाडि बढाइएको छ ।

‘आयोगको अनुमान ८ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ, यसका लागि अर्थमन्त्रालयको बजेट निर्माण महाशाखासँग छलफल भइरहेको छ । ८ अर्ब रुपैयाँमा केही थपघट हुन सक्छ । एक सातामा बजेट कति लाग्ने भन्ने टुंगिन्छ,’ उनले भने ।

उनका अनुसार अहिले अर्थमन्त्रालयसँग बजेट निर्माणका लागि समन्वय भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेका थिए । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्ने सरकारको सिफारिसलाई पारित गरेकी थिइन् र आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिएको थियो ।

अहिले प्रतिनिधिसभा बिघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको पक्षमा फैसला गरे आगामी बैशाखमा निर्वाचन हुनेछ ।


क्लिकमान्डु