बेलायतबाट फर्किएका ३ जनामा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि



काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जनामा कोरोनाको नयाँ प्रकार भेटिएको पुष्टि भएको हो ।

बेलायतबाट आएका ६ जनालाई मन्त्रालयले निगरानीमा राखेको थियो । उनीहरुको सार्स कोभिड २ परीक्षण गर्दा ३ जनामा पोटिजिभ देखिएको हो । उनीहरुमा कोरोनाको नयाँ प्रजाति भेटिएको हो वा होइन भन्ने पुष्टि गर्नका लागि सरकारले गत पुस २७ गते स्वाव संकलन गरी परीक्षणका लागि हङकङ पठाएको थियो । उक्त परीक्षणको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज इमेलमार्फत् प्राप्त गरेको थियो ।

कोरोनाको नयाँ प्रजाति पुष्टि हुनेमा २८ वर्षे महिला, ६७ वर्षे पुरुष र ३२ वर्षे पुरुष छन् । उनीहरुमा बेलायतमा देखिएको नयाँ भेरियन्ट पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षे महिलामा र ३२ वर्षे पुरुष हाल आरटी पीसीआर नेगेटिभ इसकेको र ६७ वर्षे पुरुषमा अझै पोजिटिभ रहे पनि लक्षण भने देखिएको छैन ।


क्लिकमान्डु