नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा बैंकर्स संघ



काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सरल नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता औलाएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धि तालिममा उनले सो बताएका हुन् ।

तालिमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझने प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

उनले सर्वसाधारण लगानीकर्ताले बुझ्ने गरी वित्तीय विवरण सरल र नेपाली भाषामा प्रकाशन गर्न बैंकरबीच छलफल शुरु भएको र संघमा औपचारिकरुपमा अघि बढाउने जानकारी दिए ।

यसअघि बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरण आफ्नो व्यवसायीक अवस्था राम्रो रहेको मात्र देखाउन प्रकाश गर्ने गरेको तर एनएफआरएस लागू भएपछि बैंकहरुले संस्थाको व्यवस्थापकीय हिसाबलाई प्राथमिकतामा राख्ने उनले भनाइ उनको छ ।

आगामी दिनमा नाफिजसँगको सहकार्यमा संघले आर्थिक पत्रकारको क्षमता तथा सीप विकासका लागि तालीम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने प्रतिबद्धता उनको छ ।

तालिममा ३० जनाभन्दा बढी आर्थिक पत्रकार सहभागी थिए । तालिमको नेपाल राष्ट्र बैंक नियमन विभागका सहायक निर्देशक सुजन खनाल, स्ट्यान्डर्ड चार्डर्ट बैंकका लेखानियन्त्रक सुरज लामिछाने र वरिष्ठ आर्थिक पत्रकार यज्ञ बञ्जाडेले प्रशिक्षण दिएका थिए । तालिममा एनएफआरएसको पृष्ठभूमि, उपयोगीता र चुनौतीका बारेमा प्रकाश पारिएको थियो ।


क्लिकमान्डु