पाकिस्तानको विमान बोइङ ७७७ मलेसियामा कब्जा



पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को बोइङ–७७७ लाई मलेसियाको क्वालालम्बपुर विमानस्थलमा मलेसियाको प्रशासनले कब्जामा लिएको छ ।
मलेसियाको एक स्थानीय अदालतको आदेशका आधारमा यो पाकिस्तानी विमानलाई कब्जामा लिइएको हो । सञ्चारमाध्यमको रिपोर्ट अनुसार पीआईएले लिजको किस्ता नबुझाएकाले त्यसविरुद्ध कारबाही गरिएको हो ।
पीआईएले सन् २०१५ मा भियतामको एक कम्पनीबाट यो बोइङ७७७ विमानसमेत २ वटा विमान लिजमा लिएको थियो ।
पाकिस्तानी च्यानल जियो टिभीका अनुसार विमान पाकिस्तानको कराँचीबाट क्वालालम्पुर गएको थियो । तर फिर्ता हुने क्रममा जब यात्री विमानमा सवार भए तब उडानका लागि अनुमति दिइएन । जब विमानलाई कब्जामा लिइयो तब विमानमा यात्रु सवार थिए । यो कारबाहीपछि १८ सदस्यीय चालक दल क्वालालम्पुरमै रोकिएका छन् ।
उनीअरु अब कोरोनाका कारण १४ दिनसम्म क्वालालम्पुरको क्वारेन्टिनमै बस्नुपर्नेछ ।
उक्त घटनाबारे पीआईले आफ्नो आधिकारिक ट्विटरबाट पुष्टि गरेको छ । पीआईएले मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको भन्दै आरोप लगाएको छ ।
अर्को ट्विट गर्दै पीआईले लेखेको छ, ‘पीआईए तथा दोस्रो पार्टीबीच लन्डनको एक अदालतमा मुद्दा छ । यो एक कानूनी लडाइ हो जुन अहिले चलिरहेको छ । तर मलेसियाको अदालतले एकतर्फी निर्णय सुनाएको छ । यो स्थिती स्वीकार गर्न लायक छैन । पीआईएले यसबारेमा पाकिस्तान सरकारसँग कुराकानी गरेको छ र यो विषय राजनीतिकस्तरमा उठाउन माग गरिएको छ ।’


क्लिकमान्डु