कनेक्ट आइपीएस र क्यूआर कोडको प्रयोगमा उल्लेखनीय वृद्धि



काठमाडौं । भुक्तानीको सहज माध्यम बनेको कनेक्ट आइपीएस र क्यूआर कोड स्याक्य प्रयोग गर्ने संख्या र भुक्तानी रकम दुबै उल्लेख्य मात्रामा बढेको छ । कोरोना महामारीको समयमा विद्युतीय कारोबारमा मानिसहरु बढी आकर्षित भएका थिए । जसका कारण पछिल्लो समयमा विद्युतीय कारोबार उल्लेख्यरुपमा बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कनेक्ट आइपीएसको कारोबार संख्या हेर्दा असारको तुलनामा मंसिर महिनासम्म आइपुग्दा झण्डै दोब्बरले वृद्धि भएको छ ।

तथ्यांक अनुसार गत असार महिनामा ६ लाख ९६ हजार ४४७ वटा कारोबार भएकोमा मंसिर महिनामा यो संख्या बढेर १२ लाख १७ हजार ३१० पुगेको छ । त्यसैगरी साउन महिनामा ६ लाख ३३ हजार १३४, भदौ महिनामा ८ लाख ९५ हजार ५८६, असोज महिनामा १२ लाख ५९ हजार २९१ र कात्तिक महिनामा १० लाख २८ हजार ३७ वटा कनेक्ट आइपीएसबाट कारोबार भएका थिए ।

साथै कनेक्ट आइपीएसबाट असारमा ५१ अर्ब रुपैयाँको कारोबार भएकोमा मंसिर महिनामा ९० अर्ब रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी क्यूआर कोडबाट स्यान गरी भुक्तानी गर्नेहरुको संख्या पनि अत्यधिक मात्रामा बढेको छ । गत साउन महिनामा १ लाख ९५ हजार १६ वटा कारोबार भएकोमा मंसिर महिनामा मात्रै ३ लाख ४३ हजार ५७४ वटा कारोबार क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी भएको छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार भदौ महिनामा १ लाख ७९ हजार १५० वटा, असोज महिनामा २ लाख ६५ हजार १२५ वटा र कात्तिक महिनामा २ लाख ४१ हजार ८१८ वटा कारोबार क्यूआर कोड स्क्यान गरी भुक्तानी भएको थियो ।

साथै क्यूआर कोडबाट रकम भुक्तानी पनि बढेको छ । गत साउन महिनामा ५८ करोड ९० लाख रुपैयाँ कारोबार भएकोमा मंसिर महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी १ अर्ब २५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ ।

 

 

 

 


क्लिकमान्डु