६ महिनामा लक्ष्यअनुसार राजस्व उठेन, बजेटको मध्यावधि समीक्षामा संशोधन हुने



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ ।

पुस मसान्तसम्ममा सरकारले ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ४ खर्ब ५० अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो ।

सरकारले राजस्व वापत खर्ब ८६ अर्ब रुपैयाँ, गैरकर वापत ३५ अर्ब रुपैयाँ तथा सरकारी लगानीमा रहेका संस्थान तथा सरकारले लगानी गरेको क्षेत्रबाट २७ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।

सरकारले पुस महिनामा मात्र १ खर्ब ३५ अर्ब रुपैयाँको लक्ष्य लिएको थियो । जसमा पुस महिनामा मात्र १ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ ।

विकास खर्चको अवस्थामा परिवर्तन आएन

लक्ष्यअनुसार राजस्व संकलन नगरेको सरकारले विकास खर्चमा पनि कुनै उत्साह जनाउन सकेन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा ४ खर्ब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा चालुतर्फ ३ खर्ब ४२ अर्ब, विकासमा ५० अर्ब र वित्तीय व्यवस्था अन्तर्गत २२ अर्ब रुपैयाँ खर्च भएको छ ।

पुस मसान्तसम्म राजस्व र खर्चको स्थिती हेरेर सरकारले बजेटको मध्यावधि समीक्षामा लक्ष्यलाई पुनः संशोधन गर्न सक्ने देखिएको छ ।

अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षामार्फत् बजेटमा केही विषयहरु परिवर्तन गर्ने छन् । अर्थमन्त्रालयले पुससम्मको आम्दानी र खर्च हेरेर बजेटका लक्ष्य र प्राथमिकतामा परिवर्तन गर्ने जनाएको थियो ।


क्लिकमान्डु