राष्ट्र बैंकको तथ्यांकमा मूल्य बृद्धिदर २.९३ प्रतिशत मात्र !



काठमाडौं । नेपालीहरुको भान्सा केही सस्तिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्यांक हेर्दा गत वर्षको सोही अवधिको तुलनामा महंगी वृद्धिदर ३.६२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ५ महिनामा तुलनामा वृद्धिदर घटेको हो ।

गत आवको मंसिर मसान्तसम्म उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत थियो । चालु आवको सोही अवधिमा यसको वृद्धिदर २.९३ प्रतिशतमा सीमित भएको छ ।

राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको उल्लेख गरेको छ ।

त्यस्तै, २०७६ मंसिरको तुलनामा २०७७ मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत, तराईमा २.३५ प्रतिशत, पहाडमा ३.९५ प्रतिशत र हिमालमा ४.२२ प्रतिशत मुद्रास्फीति छ । गत आवको सोही अवधिमा यी क्षेत्रहरुमा क्रमशः ७.६० प्रतिशत, ६.६६ प्रतिशत, ५.२७ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति थियो ।

यस्तै, थोक मुद्रास्फीतितर्फ २०७७ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.९८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १३.३३ प्रतिशत र ३.२६ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ०.६० प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु