लाइसेन्सको नयाँ मापदण्डअनुसार ६० ल्याए पास, आइतबारबाट अनलिमिटेड फारम भर्न सकिने



काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिखित तथा ट्रायल परीक्षाको लागि नयाँ व्यवस्था ल्याउने भएको छ । लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएको सर्वसाधारणहरूको सहजताका लागि उक्त व्यवस्था ल्याउन लागेको हो ।

हाल लाइसेन्सको लागि विभिन्न समस्याहरू झेल्दै आएका छन् । उक्त समस्यालाई मध्यनजर गर्दै दीर्घकालीन रुपमा सहज होस् भन्ने उद्देश्यका साथ नयाँ मापदण्डको अध्ययन गरी कार्यान्वयनमा ल्याउन लागेकोे विभागका महानिर्देशक गोगोन हमालले जानकारी दिए । उनका अनुसार यसको लागि लामो समयदेखि विभागले अध्ययन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मापदण्ड परिक्षाको ढाँचा तयार पारी मन्त्रालयमा पेश गरेको बताए ।

सोही अनुरुप विभागले यातायात मन्त्रालयसँग परीक्षाको नयाँ मापदण्डको बारेमा छलफल गरेको थियो । सोही छलफल अनुसार परिक्षाको मापदण्ड कार्यान्वयनमा आउने सहमति भएको विभागले जनाएको छ । जसमा लाइसेन्सको लागि ६० प्रतिशत ल्याए पास गर्ने, प्रश्नावली वेवसाइटमा राख्ने व्यवस्था रहेको छ ।

६० अंक ल्याए पुग्ने

अहिलेको कार्यान्वयनमा रहेको नियमअनुसार प्रयोगात्मक परीक्षामा पास हुनको लागि सबै प्यारामिटरमा शत प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । तर, नयाँ मापदण्डअनुसार आगामी दिनमा ६० अंक मात्रै ल्याए पास हुने महानिर्देशक हमालको भनाइ छ । ‘६० अंक ल्याउनको लागि विभागले विभिन्न विधा अर्थात प्यारामिटरको व्यवस्था गरेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘विभागले तोकेको उक्त प्यारामिटरमा पास गरेमा सजिलै लाइसेन्स पाउन सक्नेछन् ।’

अहिलेको व्यवस्था अनुसार सडकमा राम्रोसँग सवारी साधन चलाउन सक्नेले पनि पास गर्न सक्दैनन् । यसले गर्दा पटक–पटक ट्रायल दिएता पनि पास हुँदैन । अन्तिममा नभएपछि बिचौलियकहाँ जाने देखियो । त्यसैले उक्त समस्याबाट मुक्त गर्नको लागि यो व्यवस्था गर्न लागिएको उनले बताए ।

साथै, ट्रायल दिएकामध्ये २५ प्रतिशतले मात्रै पास गर्ने गरेकोमा अधिकांश पास हुने देखिन्छ ।

महानिर्देशक हमालका अनुसार प्रयोगात्मक परीक्षामा गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ । साथै, सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइने बताए ।

नयाँ मापदण्डमा ट्रायलका विभिन्न चरणको अंकको आधारमा पास–फेल निधो गरिनेछ । ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिने हमालको भनाइ छ ।

जसमा यू टर्न टेस्ट, फिगर(ड टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक–फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

लिखित परीक्षाको प्रश्नपत्र वेवसाइटमा राखिने

नयाँ मापदण्डअनुसार लिखित परीक्षामा समेत परिवर्तन गर्ने भएको छ । जसमा सेवाग्राहीलाई सहज हुनेगरी साइटमै लाइसेन्स परिक्षाका लागि ५ सय वा १ हजारसम्म सम्भावित प्रश्नवाली राख्नेछ । उक्त प्रश्नवालीमा सम्भावित प्रश्न राख्ने भएकाले सोही प्रश्नवालीबाट परिक्षार्थीलाई प्रश्न सोधिनेछ ।

विभागले अहिले लाइसेन्स लिन चाहनेले हाल कार्यालयको वेबसाइटमा गएर फारम भर्नुपर्ने, कार्यालयले तोकेको मितिमा लिखित परीक्षा दिनुपर्ने र लिखित पास भएपछि प्रयोगात्मक परीक्षा दिनुपर्ने व्यवस्था छ ।

नयाँ मापदण्डमा समेत उल्लेखित सबै प्रक्रिया पूरा गर्नुपर्ने छ । तर, विभागले नयाँ मापदण्डमा लिखित परीक्षाका लागि सोधिने प्रश्नको प्रश्नवाली अगाडि नै वेवसाइटमा राख्ने हमालले बताए । जसमा लाइसेन्स लिन चाहने व्यक्तिले लिखित परीक्षा दिनुपूर्व नै प्रश्न पढेर परीक्षामा सामेल हुन पाउने र सहज तरिकाले पास गर्ने उनको दाबी छ ।

त्यति मात्रै नभई उक्त नयाँ मापदण्डको परीक्षा दिँदा अधिकांश परिक्षार्थी उतिर्ण हुने उनको विश्वास छ ।

आइतबारबाट फारमको लागि अनलिमिटेड व्यवस्था

विभागले आइतबारबाट अनलिमिटेड फाराम भर्न सक्ने व्यवस्था गर्ने भएको छ । विभागले हालसम्म अनलाइनबाट फारम भर्न सक्ने व्यवस्था गरेता पनि सहज ढङ्गबाट भने फारम भर्न नसकेको सेवाग्रहीको गुनासो छ । साथै, विभागले लाइसेन्सको अनलाइन आवेदन फारम भर्न कोटा सिस्टम तोकेको थियो ।

तर, आइतबारबाट भने बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन् । कोरोनाले गर्दा लामो समयसम्म सेवा प्रवाह हुन नसक्दा धेरै मानिसले लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । ‘विभागले गत पुस १४ गतेदेखि अनलाइन फारम खुल्ला गरेको थियो ।

जसमा अत्याधिक सेवाग्राहीको चाँपले गर्दा सर्भर डाउनलगायत विविध समस्या आइरहेको गुनासोलाई सम्बोधन गर्दै आइतबारबाट अनलिमिटेड फारम भर्न सक्ने व्यवस्था गर्न लागेको हो,’ उनले भने ।


क्लिकमान्डु