कोभिड विरुद्धको भ्याक्सिन किन्न सरकारले माग्यो दातासँग सहयोग



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना–१९ को कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै काभिड–१९ विरुद्धको खरिद गरी लक्षित समूहलाई निशुल्क भ्याक्सिन उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

‘कोभिड–१९ को रोकथामको लागि विभिन्न देशका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार सो रोग बिरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा निकट भविष्यमा नै खोप बजारमा आउने प्रवल सम्भावन देखिएको छ ।

उक्त खोप प्राथमिकतामा आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ । सो खोपले हजारौंको जीवन रक्षा गर्नुको साथै महामारी नियन्त्रण हुन गाई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारु गर्न समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ,’ सार्वजनिक सुचनामा उल्लेख छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृतिप्राप्त भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

मन्त्राललले खोप कोषमा योगदान गर्ने दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीकलगायत अन्य दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ । उक्त कोषको आय व्ययको समेत अवलम्बन गरेको लेखा प्रणाली बमोजिम लेखा परिक्षण प्रचलित कानुन बमोजिम गर्ने मन्त्रालयले भनाइ छ ।

कोभिड खोपको प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेकोे कोष तथा लेखा नियन्त्रण कार्यालयको नामको खाता नम्बर १७००१००१०२०६०००० मा इच्छुकलाई रकम जम्मा गर्न मन्त्रालयले आग्रह गरेको छ ।


क्लिकमान्डु