लकडाउनमा बन्द भएका ९.१% उद्योग व्यवसाय अझै खुल्न सकेनन्



काठमाडौं । कोभिडका कारण गत चैतबाट बन्द रहेका उद्योग/व्यवसाय मंसिर मसान्तसम्म ५४ प्रतिशत पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

बन्दाबन्दी पश्चात् गत असार मसान्तसम्म ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरुपमा संचालनमा रहेको देखाएको थियो । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षण गरेको थियो । जसमा विभिन्न क्षेत्रका उद्योग/व्यवसाय सञ्चालन गर्ने साना-ठूला गरी जम्मा ६७४ उद्योग/व्यवसायहरु सर्वेक्षणमा समावेश भएका थिए ।

सर्वेक्षणको प्रतिवेदन अनुसार कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशतमात्र रहेको उत्पादन/कारोबार मंसिर मसान्तसम्म ५०.५१ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

लकडाउनले बन्द भएर हालसम्म संचालन हुन नसकेका व्यवसायमा सबैभन्दा बढी खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।

हालसम्म खानी तथा उत्खनन क्षेत्रका ३३.३३ व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । साथै, ३३.३३ प्रतिशत विद्युत, ग्याँस तथा पानी व्यवसाय पनि मंसिर मसान्तसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

यस्तै, शिक्षा क्षेत्रका व्यवसाय २९.५५ प्रतिशत, २३.७६ प्रतिशत होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु २५ प्रतिशत, यातायात तथा भण्डारण १२.५० प्रतिशत, सञ्चार ९.०९ प्रतिशत र ८.६५ प्रतिशत उत्पादन मुलक उद्योग व्यवसाय अझै पुर्ण रुपमा बन्द रहेको सो सर्वेक्षणले देखाएको छ ।

उद्योग÷व्यवसायको आकार अनुसार कोभिड महामारी अगाडीको तुलनामा सबैभन्दा बढी घरेलु उद्योग सञ्चालनमा हुन सकेका छैनन् ।

सो अवधिमा १६.७९ प्रतिशत घरेलु उद्योग, १४.०८ प्रतिशत १५ करोड रुपैयाँ पुँजी भएका व्यवसाय, १५ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म पुँजी भएका १२.२४ प्रतिशत र ५० करोड माथि पुँजी भएका ८.३३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । साथै, ८.१४ प्रतिशत लघु उद्याम तथा खुद्रा व्यापार अझै सञ्चालनमा आउन सकेका छैनन् ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग÷व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ ।

तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको संचालन अवस्थामा उल्लेख्य सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।


पुष्प दुलाल