भारतमा भन्दा नेपालमा सेयर लगानीकर्ता धेरै



काठमाडौं । भारतको तुलनामा सेयर लगानी गर्ने लगानीकर्ताहरुको संख्या नेपालमा बढी देखिएको छ । भारतमा कुल जनसंख्याको ३.१३ प्रतिशत नागरिक मात्रै सेयर बजारमा सक्रिय छन् भने नेपालमा कुल जनसंख्याको ८.१७ प्रतिशत नागरिक सेयर बजारमा सक्रिय छन् ।

पछिल्लो एक वर्षमा सेयर बजारमा प्रवेश गर्ने नेपालीहरुको संख्या बढेसँगै भारतको तुलनामा नेपालीहरु बढी सेयर बजारमा देखिएका हुन् ।

नेपालको जनसंख्या ३ करोडको हाराहारीमा रहेको केन्द्रीय तत्थ्यांक विभागको आँकलन छ । यता सीडीएससीका अनुसार हालसम्म २४ लाख ५१ हजार १७३ जनाले डिम्याट खाता खोलिसकेका छन् । योभन्दा बाहेक धेरै सेयर डिम्याटमा आउन बाँकी छ । यो संख्यालाई आधार मान्दा ८.१७ प्रतिशत नेपाली नागरिक पुँजीबजारमा प्रवेश गरेका छन् ।

उता छिमेकी मुलुक भारतको कुरा गर्दा त्यहाँको जनसंख्या १ अर्ब ३० करोडको हाराहारीमा रहेको छ भने भारतमा ४ करोड ८ लाख मानिस सेयर बजारमा प्रवेश गरिसकेका छन् । भारतमा कुल जनसंख्याको ३.१३ प्रतिशत मानिस मात्रै प्रत्यक्ष रुपमा सेयर बजारमा सहभागी भएका छन् ।

नेपालको तुलनामा भारतको पुँजीबजार धेरै नै परिस्कृत रहेको छ । कारोबारको लागि पनि नेपालको भन्दा धेरै सहज छ । नेपालको ब्रोकर कमिशनदेखि अन्य विषयमा नेपालमा भन्दा भारत धेरै नै न्यून र व्यवस्थित छ ।

भारतमा लगानीका लागि धेरै उपकरणहरु रहेका छन् । भारतको स्टक मार्केटमा कमोडिटिज मात्रै नभएर म्यूचुअल फण्डको पनि कारोबार राम्रो हुने गरेको छ । नेपालको पुँजीबजारले भारतको पुँजीबजारबाट कानूनी, व्यवहारिक पक्षलाई पनि आत्मसात् गर्ने गरेको छ । तर पनि भारतको पुँजीबजारमा भन्दा नेपालको पुँजीबजारमा लगानीकर्ताको ध्यान बढी रहेको सिडिएससीको तथ्याङकले देखाएको छ ।

पछिल्लो समय नेपाली पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सीडीएससीको तथ्याङक हेर्दा भारतमा भन्दा नेपाली सेयर बजारमा लगानीकर्ताको आकर्षण धेरै नै बढेको देखिएको छ ।

कोरोनासँगै सुरु भएको लकडाउनको कारण नेपाली सेयर बजारमा धेरै नै लगानीकर्ता भित्रिएका छन् । भारतको जनसंख्या र त्यहाँ भएको सेयर लगानीकर्ता र नेपालको जनसंख्या र यहाँ अध्यावधि भएका लगानीकर्ताको तथ्याङक हेर्दा भारतमा भन्दा नेपालमा बढी सेयर लगानीकर्ता देखिएको छ ।

उता अमेरिकामा पछिल्लो समयमा हेर्दा ५५ प्रतिशत जनसंख्या सेयर बजारमा छन् । अमेरिकामा सन् २००७ मा ६५ प्रतिशत जनसंख्या सेयर बजारमा सक्रिय थिए ।


क्लिकमान्डु