१० वर्षमा ३ खर्बको सुन आयात, कोटा बढाउन व्यवसायीको माग



काठमाडौं । नेपाली सुनचाँदी व्यवसायीहरूले सुनको कोटा नबढाएकोमा चिन्ता व्यक्त गरेका छन् । लामो समयको बन्दाबन्दीले व्यापार नै ठप्प भएको अवस्थामा सरकारले सुनको कोटामा पनि कटौती गरेको भन्दै सरकारसमक्ष कोटा बढाउन माग गर्दै आएका छन् ।

व्यवसायीहरुले सुन बढी बिक्री हुने समयमा पनि सरकारले सुनको कोटा नबढाएर समस्या उत्पन्न भएको बताउँदै आएका छन् । दशैं र तिहारपछि मंसिर महिनाभरी बजारमा सबैभन्दा बढी सुन बिक्री हुने समय भएको र यस्तो समयमा विगतमा दैनिक ४० केजीसम्म सुनको माग आउँथ्यो । तर अहिले सरकारले कोटा घटाएर १० केजीमा सीमित पारेपछि व्यवसाय खुम्चिएको उनीहरुको भनाइ छ ।

हाल मुलुकभर सुनचाँदी व्यवसायमा २२ हजार व्यवसायी, २ लाखभन्दा बढी कालीगढ संलग्न छन् । सरकारले सुनको कोटा घटाएसँगै व्यवसायी तथा कालिगढको रोजीरोटीमा समस्या उत्पन्न भएको उनीहरुको भनाइ छ ।

सरकारले सुनचाँदीमा अत्यधिक आयात भई शोधानान्तर बचतमा दबाब बढेको भन्दै २०६६ मा सरकारले वाणिज्य बैंकहरुबाट मात्रै कोटा प्रणालीअन्तर्गत आयात गर्ने व्यवस्था गरेको थियो ।
तत्कालीन समयमा प्रतिदिन १० किजी सुनको कोटा निर्धारण गरिएको थियो । २०६७ मा त्यसलाई बढाएर १५ केजी प्रतिदिन पाउने व्यवस्था गरेको थियो ।

त्यस्तै, २०७४ सम्म प्रतिदिन २० केजी आयात गर्ने गरी संशोधन गरिएको थियो । तर, कोरोनाको विश्वव्यापी प्रभाव बढ्न थालेसँगै नेपाल राष्ट्र बैंकले २०७६ चैतदेखि २० केजीको कोटालाई घटाएर १० केजीमा झारेको थियो ।

त्यति मात्रै नभई सुनचाँदी व्यवसायको प्रष्ट मापदण्ड नबनेकाले धेरै समस्या भोग्दै व्यवसाय गर्नुपर्ने अवस्था आएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मोहन कुमार सुनार बताउँछन् । उनले व्यवसायीलाई व्यवसाय गर्न वातावरण नबनाए व्यवसायीसँग भएको सीप, कला, संस्कृतिको इतिहास कायम राख्न नसकिने बताए ।

‘व्यवसायलाई व्यवसाय गर्नको लागि नीति नियम, निर्देशिका, नियमवाली तथा व्यवसायीको ऐन व्यवस्थाका लागि पटक पटक माग गर्दा पनि अहिलेसम्म सुनुवाइ भएको छैन,’ उनले भने, ‘नीति नियम नल्याउने तर, व्यवसायीलाई अनावश्यक रुपमा अनुगमन, धरपकड, गुणस्तर, शान्ति सुरक्षा, चोरीलगायतका कुराले व्यवसायीलाई फस्ने र फसाउने प्रवृत्ति रहिआएको छ । त्यसलै व्यवसायीको लागि नीति नियम बनाई त्यस भित्र कारोबार गर्न सहज वातावरण बनाउनुपर्छ ।’

‘हाल बजारमा कच्चा पदार्थको आवश्यकता बढ्दै गएकाले बैंकहरूले बेमौसममा सुनचाँदी ल्याएर थुपार्ने अनि सुन बिक्री नभएको र २÷३ सय केजी बदर भयो भन्दै व्यवसायीलाई बदनाम गर्ने प्रवृत्ति छ,’ उनले भने ।
उनले मौसममा दैनिक ४० केजी र बेमौसममा २० केजीसम्म उपलब्ध गराउनुपर्ने माग गरे ।

विदेशी विनिमयलाई आँकलन गरेर कोटा तोकेको हो:  राष्ट्र बैंक

सुनचाँदी व्यवसायीमा चाँदीमा कुनै समस्या नभए पनि सुनमा भने अधिकतम समस्या भौग्दै आएको व्यवसायीको गुनासो छ । तर राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले विदेशी विनिमय सञ्चित गर्नका लागि सुनको कोटा दैनिक २० केजीबाट घटाएर १० केजीमा सीमित गरिएको बताए ।

उनका अनुसार ८ महिनाको विदेशी विनियम सञ्चित राख्नैपर्ने ऐन कानून भएकाले कोरोनाले गर्दा ७ महिनामा झारिएको बताए । त्यसैले सबैलाई दिने विदशी विनिमयमा कन्ट्रोल गरेको बताए ।

‘बैंकको ढुकुटीमा पर्याप्त भएको अवस्थामा दिने हो । नभएको खण्डमा त्यसलाई नै भोग चलन गर्ने हो,’ उनले भने, ‘सुनचाँदी व्यवसायीलाई मात्रै कटौती गरेको होइन, हरेक क्षेत्रलाई आँकलन गरी सबैको विदेशी विनिमयमा कटौती गरेको छ ।’

हामी नुन पनि किनेरै खान्छौं र सुन पनि किनेरै लाउँछौं भन्दै उनले सबै क्षेत्रमा नियन्त्रण गर्न आवश्यक रहेको बताए । साथै, सुनमा मात्रै लगानी गरेको अवस्थामा अन्य क्षेत्रमा संकट आउने भएकाले त्यसलाई कटौती गरी दैनिक १० केजीमा झारिएको उनको भनाइ छ । त्यस्तै, अन्य व्यवसाय, व्यापार पनि चलायनमा बनाउनको लागि उक्त निर्णय लिई व्यवस्थित गरेको उनले बताए ।

१० वर्षमा करिब ३ खर्ब रुपैयाँको सुन आयात

नेपालमा पछिल्लो १० वर्षमा करिब ३ खर्ब रुपैयाँको सुन आयात भएको छ । तथ्यांक अनुसार २ खर्ब ८२ अर्ब रुपैयाँको सुन आयात भएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको तथ्याङ्क हेर्दा सुनको क्रमिक रुपमा वृद्धि भएर आयात भएको दखिन्छ । आव २०७६/७७ मा भने १४ अर्ब रुपैयाँ बराबरको मात्रै सुन आयात भएको छ ।

त्यस्तै, आव २०७२/०७३ मा १६ अर्ब ७ करोड रुपैयाँ, र चाँदी ७ अर्ब १२ करोड रुपैयाँको आयात भएको थियो । साथै आव २०७३/७४ मा २३ अर्ब २३ करोड रुपैयाँको सुन र ८ अर्ब ६० करोड रुपैयाँको चाँदी, आव २०७४/०७५ मा ३१ अर्ब ८७ करोड रुपैयाँको सुन र ११ अर्ब ५१ करोड रुपैयाँको चाँदी आयात भएको छ भने आव २०७५/०७६ मा ३४ अर्ब ६१ करोडको सुन र ७ अर्ब २० करोडको चाँदी आयात भएको छ ।


क्लिकमान्डु