सरकारले कोरोना बीमाको प्रिमियम वापतको १५ करोड रुपैयाँ बुझायो



काठमाडौं । सरकारले बीमा कम्पनीहरुलाई कोरोना बीमाको प्रिमियतवापतको करिब १५ करोड रुपैयाँ बुझाएको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा सर्वसाधारण र निजामति कर्मचारीलाई अनुदानमा कोरोना बीमा गर्ने घोषणा गरेको थियो । जसवापतको १५ करोड रुपैयाँ सरकारले बीमा कम्पनीलाई बुझाएको हो । सरकारले सर्वसाधारणको हकमा ५० प्रतिशत र कर्मचारीको हकमा प्रिमियम रकममा शतप्रतिशत अनुदान दिने घोषणा गरेको थियो ।

सरकारले साउन यता गरिएको कोरोना बीमावापतको प्रिमियम रकम भुक्तान गरेको हो । बजेटमार्फत् सरकारले सर्वसाधारण र निजामति कर्मचारीको कोरोना बीमा सरकारले अनुदानमा गरिदिने घोषणा गरेको थियो ।

मंसिर मसान्तसम्म ८८ जना निजामति कर्मचारी गरी १ लाख ७५ हजार ४८३ जनाको कोरोना बीमा भएको छ । सरकारी अनुदानमा कोरोना बीमा गत साउन २३ गतेबाट शुरु भएको हो ।

सरकारी अनुदानमा साउनको तेस्रो साताबाटै कोरोना बीमा शुरु भएपनि सो वापतको अनुदानमा बीमा गराएवापतको शुल्क भने बीमा कम्पनीहरुले सरकारबाट पाएका थिएनन् ।

अर्थमन्त्रालयले बीमा समितिमार्फत् अनुदान वापतको रकम बीमाको भुक्तानी पुलमा पठाएको नेपाल बीमकसंघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘गत शुक्रबार अर्थबाट समितिमा सर्वसाधारण र निजामति कर्मचारीले गरेको अनुदानको कोरोना बीमाको वापतको बीमा शुल्क प्राप्त भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्रालयले गत कात्तिक मसान्तसम्म गरिएको कोरोना बीमाको शुल्क भुक्तानी गरेको छ ।’

कात्तिक मसान्तसम्म सरकारी अनुदानमा भएको कोरोना बीमा वापत सरकारले १४ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको उनले जानकारी दिए । जसमा बीमा संस्थानको मात्र २० करोड रुपैयाँ र बाँकी १९ वटा कम्पनीहरुको रहेको संघले जानकारी दिएको छ ।

बीमा संस्थानले नेपाली सेना, प्रहरी र केही सरकारी निकायका कर्मचारीहरु कोरोना बीमा गराइरहेको छ भने अन्य बीमा कम्पनीहरुमा पायकमा रहेका सरकारी निकायले आफ्नो कर्मचारीहरुको कोरोना बीमा गएको क्षेत्रीले बताए ।


क्लिकमान्डु