काम गर्नै दिएनन् भन्दै प्रधानमन्त्रीले भने- मैलै इतिहासमा सबैभन्दा बढी काम गरेँ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो काम यसअघि कहिल्यै नभएको दावी गरेका छन् ।

राष्ट्रिय सभामा बोल्दै ओलीले पार्टीभित्र विवाद बढाएर कामै गर्न नदिएको तर्क गर्दै भने, ‘मेरो कार्यकालमा जस्तो काम यसअघि कहिल्यै भएको थिएन, यो असाधारण र एतिहासिक काम हो ।’

भारतले अतिक्रमित गरेको भूमिलाई नक्सामा समेटेर प्रकाशित गरेको भन्दै प्रधानमन्त्रीले आफ्नो सरकारले कामबारे चर्चा पनि गरे ।

उनले आफ्नो कार्यकालमा रानीपोखरी निर्माण, भूकम्पबाट भत्किएका ७ लाख घर निर्माण, धरहरा निर्माणको थालनी, काठमाडौं सहरको ब्यूटिफिकेसन, तराईमा ढलको व्यवस्था, ६ हजार हेक्टर जमिनमा थप सिचाई भएको बताए ।

उनले गत एक वर्षमा मात्रै ९८९ किलोमिटर कालोपत्रे काम भएको, कृषिको आधुनिकिकरणको भएको समेत दावी गरे ।

त्यसैगरी महाकाली नदीको पानीबाट चाँदनी दोधारामा १० क्युविक पानी दिने सहमति ६ महिनाभित्र कार्यान्वयन गरिने समेत उनले बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएको छ । शिक्षामा भर्नादर राम्रो छ, ड्रपआउट घटेको छ । छात्र र छात्राको अनुपात राम्रो भएको समेत दावी गरे ।


क्लिकमान्डु