बन्द भएको ६ महिनापछि फोस्टर बियरको उत्पादन शुरु
काठमाडौं । फोस्टर बियर उत्पादन गर्दै आएको एबी इन्बेभ कम्पनीले आफ्नो स्वामित्व जापानीज कम्पनी आसाही ब्रुअरीलाई बिक्री गरेपछि नेपालमा उत्पादन बन्द भएको फोस्टर बियरको उत्पादन फेरि शुरु भएको छ ।
जावलाखेल ग्रुप अफ इन्डष्ट्री अन्तर्गत उत्पादन हुँदै आएको फोस्टर बियरको उत्पादन ६ महिना बन्द भएपछि फेरि शुरु भएको कम्पनीका कार्यकारी निर्देशक सशिन जोशीले जानकारी दिए ।
यसअघि फोस्टर बियर एनबी इन्बेभ कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको थियो । तर पछिल्लो समय उक्त कम्पनी जापानीज कम्पनी आसाही ब्रुअरिजले खरिद गरेपछि नेपालमा यसको उत्पादन बन्द भएको थियो ।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रीका अनुसार कम्पनी बिक्री भएपछि नयाँ कम्पनीबाट लाइसेन्स लिनुपर्ने भएको हुँदा शुरुमा उत्पादन बन्द गरिएको थियो । तर पछि जापानीज कम्पनीबाट लाइसेन्स प्राप्त गरिसकेपछि फेरि उत्पादन शुरु गरिएको हो ।
विगत ४० वर्षदेखि नेपालको मदिरा उद्योगमा राम्रो उपस्थिती रहेको जावलाखेल ग्रुप कम्पनीले विभिन्न १८ वटा ब्राण्डमा मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने रुस्लान भोड्का र गोल्डेन ओक मदिरा सबैभन्दा चर्चित ब्राण्ड हुन् ।
भोड्का र ह्विस्कीको बजारमा राम्रो उपस्थिती रहेको कम्पनीले भविष्यमा बियरको बजारमा पनि राम्रो बजार हिस्सा ओगट्नका लागि अहिले बियरको उत्पादनमा केन्द्रित भएको छ । हाल नेपालको कुल बियर बजारमा कम्पनीले उत्पादनतथा बिक्री गर्ने बियरको हिस्सा ७ प्रतिशत मात्रै छ ।
कम्पनीले नेपाली ब्राण्डमा नमस्ते बियर उत्पादन गरिरहेको छ भने विदेशी ब्राण्डमा फोस्टर बियर पनि उत्पादन गरिरहेको छ । त्यसका साथै कम्पनीले पछिल्लो समयमा मेक्सिकोबाट आयात गरी कोरोना बियर पनि बिक्री गर्दै आएको छ । तर केही समयपछि नै कोरोना बियर भारतबाटै आयात गर्ने कम्पनीले तयारी गरेको छ ।
त्यसका साथै कम्पनीले विश्वमा सबैभन्दा बढी बिक्री हुने बडवाइजर बियर पनि उत्पादन शुरु गर्न लागेको छ । यसका लागि कम्पनीले गत वर्ष नै सम्झौता गरी पुसदेखि नै उत्पादन शुरु गर्ने र फागुनदेखि बजारमा उपलब्ध गराउने योजना बनाएको छ ।