सामान डेलिभर गर्न अमेजनले किन्यो ११ विमान



ई–कमर्श कम्पनी अमेजनले डेलिभरी क्षमतालाई वृद्धि गर्नका लागि ११ वटा विमान खरिद गरेको छ । ग्राहकहरुले अर्डर गरेको सामान छिटोभन्दा छिटो पुगोस भन्ने उद्देश्यले कम्पनीले ११ वटा जेट विमान खरिद गरेको हो ।

कम्पनीले यी विमानहरु जेट डेल्टा र जेटवेस्ट एयरलाइन्स कम्पनीसँग खरिद गरेको हो । यस अगाडि कम्पनीले विमान भाडामा लिएर सामान ओसारपसार गर्दै आएको थियो ।

अब आगामी दिनमा कम्पनीले लिजमा लिएका र खरिद गरिएका सबै विमानबाट सामान पुर्याउने छ । तर कम्पनीले विमान खरिदमा कति रकम बुझाएको हो त्यो खुलाइएको छैन ।

विमान खरिद गर्नुको पछाडि आफ्ना ग्राहकहरुलाई आफैले सामान पुर्याउने योजना कम्पनीको छ । हाल कम्पनीले अमेरिकी पोस्टल सर्भिसको प्रयोग कम गर्दै आफैले सामान डेलिभरी गर्ने योजना बनाएको छ ।

कम्पनीले यसका साथै विमानस्थलमै पनि प्याकेज सर्टिङ हब्स पनि बनाएको छ । भने विमानस्थल नजिकै वेयरहाउस पनि सञ्चालन गरेको छ । कम्पनीले खरिद गरेको सबै ११ वटा विमान बोइङ ७३७ ३०० एस छन् । यी विमानगरी खास गरी यात्रु बोक्नका लागि प्रयोग गरिन्छ तर कम्पनीका लागि सामान राख्ने गरी डिजाइन गरिनेछ ।

११ वटा विमान खरिदसँगै कम्पनीसँग सन् २०२२ सम्ममा खरिद गरिएका र भाडामा लिएका विमानको संख्या २२ पुग्नेछन् ।


क्लिकमान्डु